धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार तथा बचाउन माग गर्दै विगत ११४ औं दिनदेखि जारी आन्दोलन अब संघीय सरकार केन्द्रीत पनि हुने भएको छ । 

प्रतिष्ठान पदाधिकारी तथा व्यवस्थापन पक्षसँग विभिन्न मागहरु लिएर आन्दोलनरत सेभ घोपा अभियानले १२ गतेसम्म आफ्ना मागहरु पुरा गर्न अल्टिमेटम दिएको छ । यो समयभित्र माग वेवास्ता गरिए काठमाण्डौंमा आमरण अनसन बस्ने सेभ घोपा अभियानले घोषणा गरेको छ । 

सेभ घोपाले बुधबार धरानमा वृहत विरोध र्याली तथा कोणसभा आयोजना गरेको थियो । छाताचोकस्थित पुरानो अस्पतालबाट शुरु भएको र्याली भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अभियन्ता अनिल राईले सरकारले वीपीलाई वेवास्ता गरेको बताए । साथै उनले धरानबाट प्रतिनिधित्व गर्ने संघीय सांसदको पनि आलोचना गर्दै स्वास्थ्य जस्तो गम्भीर बिषयलाई उठान नगरेको भन्दै आक्रोश पोखे । रिक्त रहेको कार्यकारिणी समिति पदपुर्ति, रिक्त रहेको पदाधिकारी नियुक्ती, जनशक्ति थप गर्नेलगायत मागहरु पनि रहेको उनले बताए । 

save-ghopa-click1

कार्यदलले दिएको प्रतिवदेनमा उल्लेख भएको १५ दिनभित्र पुरा गर्न सकिने मागहरु अझै कतिपय वेवास्ता भएको भन्दै उनले अब सरकार विरुद्ध नै केन्द्रीत भएर आन्दोलन अघि बढ्ने बताए । सेभ घोपाकी अर्का अभियन्ता श्रृष्टी श्रेष्ठले पनि सरकारले वीपीलाई वेवास्ता गरेकोले दबाब दिन काठमाण्डौंमा आमरण अनसन हुन लागेको बताइन् । 

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले भने कार्यदलले दिएको प्रतिवदेनअनुसार १५ दिनभित्र गर्नसकिने कामहरु ९० प्रतिशत पुरा भइसकेको बताए । साथै उनले कतिपय मागहरु प्रतिष्ठानको तहभन्दा पनि मन्त्रालय, सरकारसँग सम्बन्धित भएकोले यहाँबाट सम्भव नभएको पनि प्रष्ट्याए । तथापी, प्रतिष्ठानले समन्वय गरिरहेको उनको भनाई थियो । 

भिडियो: