धरान:  धरान उपमहागनरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव उद्धवप्रसाद रिजाल आउने भएका छन् । 

प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिजाल सरुवा भई धरान आउने भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको विरगञ्ज महानगरपालिका सरुवा भएपछि धरान प्रमुख प्रशासकीय अधिकृतविहिन भएको थियो । रिक्त ठाउँमा सचिव रिजालको सरुवा भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज औपचारिक रुपमा उनलाई विदाई गरेको छ । 

रिजालको साउन १२ गते नै धरान सरुवा भएको थियो । उनले बुधबार धरानमा हाजिर हुने बताएका छन् । स्थानीय तहमा रिजाल छैटौं पटक प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका हुन् । उनी यसअघि भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका र सोही जिल्लाको मध्यपुर ठिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइसकेका छन् । त्यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइसकेको उनको अनुभव छ ।

Farewell_photo-1

रिजाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिवकोरुपमा कार्यरत थिए । बिदाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव विनोदप्रकाश सिंहले सचिव रिजाललाई मायाको चिनो प्रदान गरेका थिए । प्रमुख सचिव सिंहले छोटो समयको सङ्गतमा रिजाललाई कामप्रति लगाव भएको एक जुझारु कर्मचारीको रुपमा आफूले बुझेको बताए । बिदाइ हुने क्रममा सचिव रिजालले आफ्ना लागि बिदाइ कार्यक्रम कुनै नौलो नभएको उल्लेख गर्दै अहिलेको बिदाइ २५ औं पटकको भएको बताए । 

सचिव रिजाल सहसचिवमा बढुवा भएपछि पहिलो पटक प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७८ माघ २७ गते हाजिर भएका थिए । त्यसअघि उनी संघीय सरकारको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव सरहको कर्मचारीको रुपमा कार्यरत थिए । रिजालले २०४७ सालमा जिल्ला शिक्षा कार्यालय ओखलढुंगाबाट मुखिया पदबाट जागिर सुरु गरेका हुन् ।