धरान: सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव वस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । 

कोभिड संक्रमण भएर स्वास्थ्य लाभ गरिरहेका मुख्यमन्त्री राईले बुधबार एक प्रेस नोट जारी गर्दै चिन्ता व्यक्त गरेका हुन् । नदीको बहाव पश्चिमतर्फ बढ्दा सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको मुख्यमन्त्री राईले उल्लेख गरेका छन् । मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह््वान पनि गरेका छन् । 

उनले नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्दार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन पनि दिएका छन् । तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभिन्न सामाजिक संघसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं. १ सरकार प्रतिवद्ध रहेको बताएका छन् ।