धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले श्वेत पत्र जारी गरेका छन् । 

रजिष्ट्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको जनाएका छन् । प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको श्वेत पत्रमा उल्लेख छ । यसैकारणले प्रतिष्ठानका बिशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सृर्जना भएको पनि रजिष्ट्रार संगौलाले उल्लेख गरेका छन् । 

प्रतिष्ठानको पछिल्लो ४ आर्थिक बर्षको आयव्यय पनि सार्वजनिक गरेका रजिष्ट्रार संगौलाले आर्थिकरुपमा विकराल अवस्थामा पनि संस्था कसरी बाँचेको छ भनेर सम्बन्धित निकाय र सर्वसाधारणलाई जानकारी दिन श्वेतपत्र जारी गरेको जनाएका छन् । प्रतिष्ठानका अनुसार विगत २ बर्षदेखि आम्दानी १ अर्बभन्दा बढीले घटेको छ । 

आर्थिक बर्ष २०७५/०७६ मा कोभिड नभएको कारण ५८ करोड ६६ लाख रुपैया बचत भएको थियो । आर्थिक बर्ष २०७६/०७७ मा कोभिड महामारी शुरु भएपछि प्रतिष्ठानको आम्दानीलाई पनि असर गर्न थालेको थियो । उक्त आर्थिक बर्षमा प्रतिष्ठानको अवस्था २९ करोड ४३ लाख ऋणात्मक भएको थियो । अन्तरिक आय र नेपाल सरकारबाटसमेत गरि २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त बर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैया खर्च गरेको थियो । 

यसैगरि, आर्थिक बर्ष २०७७/०७८ मा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैया ऋणात्मक अवस्थामा पुगेको थियो । कोभिड महामारीकै कारण उक्त बर्ष आम्दानी १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिएको थियो भने सञ्चालन खर्च २ अर्ब ८२ करोड ४९ लाख पुगेको थियो । यस्तै, आर्थिक बर्ष २०७८/०७९ मा पनि प्रतिष्ठानको आर्थिक अवस्था ४१ करोड ऋणात्मक रहेको थियो । यो बर्ष कुल आम्दानी २ अर्ब ७१ करोड ४४ लाख पुगेपनि सञ्चालन खर्च वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको छ । प्रतिष्ठान स्वयत्त निकाय भएकोले तलब, भत्तासहित सञ्चालन खर्च आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

सरकारले विगतको अनुपातमा प्रतिष्ठानलाई सहयोग गर्ने बजेट क्रमशः घटाउदै जानु, सेवा विस्तारसँगै जनशक्ति थप गर्नुपर्ने र समयाअनुकुल शिक्षक, कर्मचारीहरुको तलब तथा सुविधा वृद्धि गर्नुपर्दा प्रतिष्ठानको व्ययभार बढ्दै गएको छ । शैक्षिक सत्र २०१९ देखि चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रमको सिट संख्या तथा शुल्क समेत न्युनरुपमा निर्धारण गरेको छ भने विदेशी विद्यार्थीको कोटासमेत न्युन तोकेपछि प्रतिष्ठानको आम्दानी घटेको छ । 

रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतीपुर्ण बन्दै गइरहेकोले माथि उठ्न केही समय लाग्ने जनाएका छन् । शिक्षक कर्मचारीहरुले इमान्दारितापुर्वक पारदर्शिताका साथ काम गर्न आवश्यक भएको रजिष्ट्रार संगौलाले औल्याएका छन् भने राजनीतिक दल, समाज, स्थानीय, प्रदेश र संघीय सरकार सबैबाट सकरात्मक सोच राखेर सहयोग गर्न पनि आग्रह गरेका छन् । 

swetpatra1

swetpatra2

swetpatra3