धरान: मंसिर ४ गतेको संघीय तथा प्रदेश निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु टिकटको लागि केन्द्रतिर धाइरहेका छन् । गएको स्थानीय तह निर्वाचनमा मेयरमा स्वतन्त्रले जितेको धरानसहित समेटिएको सुनसरी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । 

बिहिबार धरानको भानुचोकमा सभा आयोजना गरि सुकुम्बासी हकअधिकारको लागि निरन्तर लागिपरेका कुमार कार्कीले उम्मेद्वार घोषणा गरेका छन् । उनले मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य (संघीय सांसद)मा उठ्ने घोषणा गरेका छन् । कार्की देशभरका सुकुम्बासीहरुको साझा संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्षसमेत हुन् । उनले उम्मेद्वारी घोषणासँगै पाँच बर्षमा गर्ने कामको प्राथमिकताको पाँच प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।

सुनसरी क्षेत्र नं १ मा धरानको २० वटा वडा, बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा समेटिएको छ । धरान क्षेत्रमा मात्रै १३ हजार ६७० भन्दा बढी घरधुरी सुकुम्बासीको लगत संकलन भएको छ । धरान र सुनसरीको क्षेत्र नं १ को चुनावी परिणाममा सुकुम्बासी भोट निर्णायक मानिन्छ । 

kumar1

उम्मेद्वार कार्कीले केही समयपछि विस्तृतरुपमा घोषणा पत्र सार्वजनिक गर्ने बताए । दलहरुले सुकुम्बासीहरुलाई भोट बैंककोरुपमा मात्र प्रयोग गरेको भन्दै अब सुकुम्बासी नै सांसद भएर संसद भवनमा अधिकारको आवाज उठाउने उनले बताए । उनले आफ्नो ५ बुँदे प्रतिवद्धताको पहिलो बुँदामा फास्ट ट्रयाकमा निःसर्त स्थानीय लालपुर्जासहित सुकुम्बासीमुक्त राष्ट्र घोषणा र समुदायमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, निव्र्याजी आवासऋण सहायता प्रदान गरि हरेक झुप्रा घर रंगित बनाउने र खानेपानीको दीर्घकालिन स्रोत खोजेर निःशुल्क खानेपानी र विद्युतको नीति अघि सार्ने बताएका छन् । 

kumar2

यसैगरी, भिभिआइपी र भिआइपीको सेवा सुविधा खारेज गरेर सरकारी स्रोतसाधनको दुरुपयोग हुन नदिई एक सहर एक ठुलो उद्योगको स्थापना, एक घर एक रोजगारको प्रबन्ध गर्दै हरेक ६० बर्ष पुगेका असहाय र फरक क्षमता भएका नागरिकको निःशुल्क स्वास्थ्य उपचार र आजिवन पालनपोषण गर्ने नीति ल्याउने पनि घोषणा गरेका छन् । 

यस्तै, सर्दु सेउती लगायत खोलामा वस्तीको क्षति नहुने गरि दीर्घकालिन तटबन्धनसहित रिंग रोडको कार्यक्रम ल्याएर पर्मको नीतिबाट भौतिक पुर्वाधारको विकास गर्ने र बीच बजारबाट जाने भनेको ६ लेनको बाटो ओभर फ्लाई वा अण्डरग्राउण्डबाट बजारको क्षति नहुने गरी निर्माण गर्ने पनि कार्कीले घोषणा गरेका छन् । 

भिडियो: