धरान: नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले पत्रकारहरू बीच शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा बिहिबार उक्त कार्यक्रम भएको हो । अग्रज पत्रकार हर्ष सुब्बाले पत्रिकामा फोटोको महत्वबारे धारणा राखेका थिए । उनले फोटोको कारण मात्र पनि पत्रिका चल्ने गरेको इतिहास खुलाउदै एउटा फोटोले १ हजार भन्दा बढी शब्दको फिचर भन्दा धेरै सन्देश दिने बताए । उनले भने,'फोटोले समाचारको महत्व बढाउने गर्दछ । त्योसंगै फोटो पत्रकारहरूको प्रतिष्पर्धा समेत बढेको छ ।  फोटो पत्रकारहरूको व्यवसायिकताको लागी संस्थाले अभियानहरू चलाउन जरूरी छ ।'

अर्का अग्रज पत्रकार राजेश बिद्रोहीले फोटोले समाचारको विश्वसनीयता बढाउन मद्दत गर्ने बताउँदै फोटो पत्रकारहरूले आचारसंहिताको ध्यान दिनुपर्ने बताए । उनले विगतमा फोटोलाई पत्रिकामा भएको खाली ठाँउ भर्ने काममा मात्र प्रयोग हुने गरेको उल्लेख गर्दै हाल भने पत्रिका, अनलाईनमा फोटोको महत्व व्यापक भएको बताए । 'यसकारण फोटो पत्रकारहरूको संख्या ह्वात्तै बढेको छ । तर पत्रकारीताको आँचार संहिताको ज्ञान भने सबैमा हुन जरूरी रहेको छ,'उनले भने । 

नेपाल पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की तथा प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष शुभद्रा प्याकुरेलले फोटो पत्रकारहरूलाई व्यवसायिक बनाउनका लागी महासंघले अगुवाई गर्न सुझाव दिए । यस्तै, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले यस कार्यसमितीमा नयाँ सदस्यहरू समेत भएकाले अग्रज पत्रकारहरूसंगको चिनजान तथा शुभकामना आदानप्रदानका लागी कार्यक्रम आयोजना गरीएको बताए । उनले सुनसरीको पत्रकारहरूलाई व्यवसायिक बनाउने लक्ष्य सहित यस कार्यसमितीले कार्यहरू गर्ने बताउँदै हरेक फोटो पत्रकारहरूलाई कुनै न कुनै मिडियामा कार्यरत गराउने अभियान समेत चाँडै संचालन गर्ने बताए ।