धरान: नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई भारतीय गल्फ टुर अन्तर्गत कपिल देव-ग्रान्ट थोर्नटन ईन्भिटेशनल प्रतियोगितामा १७ औं स्थान प्राप्त गर्न सफल भएका छन्।

अन्तिम दिन १ अण्डर ७१ खेल्दै गर्दै उनले कूल ३ ओभर २९१ को स्कोर गरे । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको पहिलो सिजनमा प्रतिस्पर्धा गरिरहेका शुक्रको यो उत्कृष्ट प्रदर्शन हो । उनी पहिलो पटक उत्कृष्ट २० भित्र पर्न सफल भएका हुन् । भारतीय टुर अन्तर्गत पहिलो सिजनको ११ औं प्रतियोगितामा १७ औं भए वापत शुक्रले भारु १ लाख ४३ हजार २०० प्राप्त गरे। यो सिजनमा अर्डर अफ मेरिटमा १६ स्थान‌ सुधार गर्दै कूल भारु २ लाख ५४ हजार २१९ का पुरस्कार पाएका छन् भने उनी शुक्र ६७ औं स्थानमा उक्लेका छन्। भारतीय टुरमा अब १० वटा प्रतियोगिता बाँकी रहेको छ, र उत्कृष्ट ६० भित्र सिजनको अन्त्य गर्ने खेलाडीको कार्ड आगामी बर्षका लागी सुरक्षित रहनेछ।

गुडगाउँमा रहेका शुक्रले म्यासेन्जरमा अडियो कलमार्फत खुशी व्यक्त गर्दै सोचेको जस्तै खेलमा सुधार हुदै आएको प्रतिक्रिया दिए । आफुले धेरै सिक्ने अवसर पाइरहेको भन्दै उनले भने, 'यहाँ नेपालमा भन्दा प्रतिस्पर्धा धेरै कडा छ । फिल्ड टाइट छ । एउटा सानो गल्ती भयो भने कट पार गर्न नै सकिदैन । धेरै सिक्ने अवसर पाइरहेको छुँ र गेम पनि राम्रो भइरहेको छ । '

sukra

उनी निरन्तर प्रतियोगिताहरुमा भाग लिनेछन्, र अब नोभेम्बर अन्तिमतिर मात्र नेपाल फर्कनेछन् । 'अझै थुप्रै टुर बाँकी छ, सबैमा भाग लिएर नोभेम्बर लाष्टतिर मात्र फर्कन्छुँ होला,' उनले भने, 'अब चण्डीगढ जान्छुँ । त्यहाँ २ वटा प्रतियोगिता छ । त्यसपछि पुणेमा छ । त्यसपछि एक साता रेष्ट गरेर फेरि प्रतियोगिता हुन्छ ।' दशैं प्रतियोगितामै बित्ने भन्दै उनले तिहारमा भने गेम नभए भाइटिका मनाउन नेपाल आउने सम्भावना भएको बताए ।

आज (शुक्रबार ) सम्पन्न प्रतियोगितामा पहिलो दुई दिन भने खराब प्रदर्शन गरेका शुक्र तेस्रो राउण्डमा ३ अण्डर ६९ स्कोर गर्दै १९ औं स्थानमा उक्लेका थिए। चौंथो तथा अन्तिम दिन उनले २ अण्डर ३४ मा फ्रन्ट नाईन सकाए भने ब्याक नाईनमा १ ओभर ३७ खेले । पाँचौं र नवौं होलमा बर्डी प्रहार गर्दा शुक्रले बाँकी होलमा पार बचाए। ब्याक नाईनको पहिलो होलमा बर्डी प्रहार गरेका शुक्रले १५ औं होलमा एक सट खेर फाले। अर्को होलमा बर्डी खेल्दै लयमा फर्किने संकेत गरेका शुक्र अन्तिम दुई होलमा बोगी खेप्न पुगे ‌। अन्तिम चार होलको तीनवटा बोगीका कारण शुक्रले उत्कृष्ट १० मा प्रतियोगिताको अन्त्य गर्ने मौका गुमाएका थिए।