दशैं तिहारमा टिका जमरा खान(पान आफन्त भेटघाटसंगै रमाईलो साथ साथै तस्वीर खिच्नु पनि हो । फोटो खिच्नु दशैं तिहारमा छुटाउनै नहुने महत्वपूर्ण काम जस्तै बनिसकेको छ । खिचेका फोटाहरु इन्टरनेट सामाजिक संजालमा पोस्टाउनु त अनिवार्य जस्तै भइसकेको छ । एक दशकअघिसम्म फोटोग्राफी भनेको सिमित प्रोफेसनल र सौखिनहरूको पहुँचमा मात्र थियो ।

हाल संसारका जनसंख्याको आधा भन्दा बढीको हात हातमा सस्तोदेखी निकै महँगा मोवाईल र एसएलआर क्यामेरा छन् । प्रोफेसनल क्यामेरा होस् वा फोनमा जडित क्यामेरा, फोटो खिच्ने सोख हरेक व्यक्तिमा पलाएको हुन्छ। फोटो खिच्न र इन्टरनेट चलाउन मिल्ने मोबाइल फोनहरुबाट फोटो कैद गर्न मिल्ने दुबै हुन्छ, र फोटो संग्रह गर्ने ईच्छाका कारण यो नौलो बानी जो सुकैमा पलाएको अनुमान गर्न सकिन्छ । 

सामाजिक संजालमा संसारका जस्तोसुकै फोटोहरु राख्ने क्रम बढेसगै फेसबुक ईन्ट्राग्राम र अन्य संजाल प्रयोगकर्ताहरुले फोटो पोष्टाउने होडबाजी नै चलेको छ। कतिपय फोटोहरु दुरुप्रयोग पनि भएको पाईन्छ, र राम्रा फोटोहरुको हकमा हेर्दा सामाजिक संजाल मार्फत् एउटा ऐतिहासिक दस्तावेज बन्दै गएकोमा भने कसैको दुई मत छैन । 

चाडपर्वमा फोटो खिच्ने खिचाउने काम सामान्य भईसके । बच्चादेखी बृद्धबृद्धाहरुको हात हातमा मोवाईल देख्न सकिन्छ। अहिले खिचेका फोटोहरु पछि गएर एतिहासिक र यसले ठूलो महत्व राख्ने गर्दछ । झन् सामाजिक संजालमा राखिएका फोटोहरु त भेट्न पनि सजिलो हुने भएकाले हामीले निकै अगाडी राखेको फोटोहरु सामाजिक संजालमा राखेका फोटोले अहिले इतिहास झल्काउछ ।

दशैंतिहार नेपालीहरुको महत्वपूर्ण चाडपर्व मानिन्छ । चाडपर्वमा टिका जमरा थापेको र रमाइलो गर्दै गरेको दशै झल्कने संदेशमुलक फोटो खिच्नु सबैको रहर पनि हो र हरेकजना 'क्यामेरा पर्सन’ बनेका पनि हुन्छन । साधारण क्यामेराले पनि असाधारण र धेरै प्रभावकारी फोटा क्लिक गर्न सकिन्छ। फोटो लिनु भनेको पछिका लागी एउटा दस्तावेज पनि हो । दशैको माहौलमा आशा, उमंग र खुसी व्यक्त गर्ने उत्कृष्ट फोटोहरु कसरी खिच्ने भन्ने केही टिप्स तल छ ।

डिएसएलआर क्यामेरा र मोवाईल फोन क्यामेराको गुणस्तर परीक्षण गर्ने 

डिएसएलआर क्यामेरा र मोवाईल क्यामेराले फोटो खिच्नुभन्दा पहिले आफूले चलाइरहेको क्यामेराको क्वालिटी थाहा पाउनु अत्यन्त जरुरी छ। तर आफूले चलाइरहेको डिएसएलआर क्यामेरा र मोबाइल क्यामेराको सेन्सर कत्तिको फराकिलो छ, कति ठुलो छ थाहा पाउनुपर्छ । अँध्यारोमा तस्वीर खिच्न मिल्छ कि मिल्दैन ? फ्ल्यास छ की छैन ? गतिमा भएको वस्तुको तस्वीर खिच्न मिल्ने प्रविधि छ की छैन ? भन्ने थाहा भयो भने आफ्नो एरिया पनि थाहा हुन्छ ।

जस्तो दशैंतिहारको टिका जमरा र आफन्तको भेटघाट धेरैजसो घरभित्रै हुनेभएकाले कत्तिको प्रकाश कोठामा भए मात्रा आफ्नो मोबाइल क्यामेराले अथवा डिएसएलआर क्यामेराले तस्वीर खिच्न सक्छ भन्ने ज्ञान हुनुपर्छ । त्यस्तै टिका जमरा या अन्य रमाइलो गरिरहेको फोटो खिच्दा हामीले फोटोमा कैद गर्न खोजेको व्यक्ति र फोटो खिच्ने व्यक्ति समेत स्थिर हुँदैन, यताउती चलिरहेको हुन्छ । नहल्लि फोटो खिच्नुपर्ने वा फोटो खिच्न खोजिएको व्यक्तिलाई नचलेर बस्न आग्रह गर्नु पर्छ । अर्थात डिएसएलआर क्यामेरा प्रयोग गर्नुपर्छ।

लाइट:

तपाई मोवाईलबाट सेल्फी फोटो खिच्दै हुनुहुन्छ भने लाइटमा ध्यान दिनुहोस यो महत्वपूर्ण हो र फोटो राम्रो आउन मद्दत गर्दछ । फोटो खिच्दा पछाडीको भागमा लाइट पार्नु हुँदैन । अगाडिबाट आएको लाइट सेल्फी खिच्नका लागी राम्रो मानिन्छ । सबैका अनुहारमा फोकस र प्रकास अथवा सो लाइटले कभर गरेको छ छैन ध्यान दिनु पर्छ ।

एंगल:

सेल्फी खिच्दा कतिपयको एंगल नमिलेको जस्तो देखिन्छ र यसतर्फ ध्यान जाँदैन । एगल नमिल्दा सेल्फी लिने व्यक्तिको अनुहारको हाउभाउ नराम्रो देखिन्छ । सेल्फी लिदा हलुका तलमाथिबाट लिँदा फोटो उत्कृष्ट आउँछ ।

फोटो खिच्नेको संख्या :

फोटो खिच्न कतिजना बसेका छन्, यसले फोटोको क्वालिटी गुणस्तरमा फरक पार्छ । यदि एक या दुईजनाको मात्र सेल्फी फोटो लिन लागिएको छ भने खासै फरक पर्दैन । तर, धेरै जनाको सेल्फी लिन लागिएको छ भने अनुहार हाउभाउ नमिलेको आउन सक्छ । त्यसैले यस्तो अवस्थामा सेल्फी स्टिक प्रयोग गर्नुपर्छ ।

फोटोको क्वालिटी :

आजभोली कुनै पनि प्रकारको मोबाइलमा सेल्फी खिच्ने क्यामेरा राखेको हुन्छ । राम्रो मोवाईलमा राम्रो क्वालिटीको क्यामेरा जडीत भए मात्र फोटो पनि राम्रो आउँछ । मोवाईल कम्पनीको बजार होडबाजीले पनि क्यामेराको क्वालिटीलाई निकै उच्चस्तरीय बनाएको छ । मोबाइल उत्पादन गर्ने गरेका छन । यसतर्फ पनि ध्यान दिनुपर्छ 

ट्रिटमेन्ट:

अहिले प्रायः मोबाइलमा नै फोटो ट्रिटमेन्ट फिचर समावेश भएका हुन्छन् । जसले फोटोलाई कस्तो बनाउने भन्ने कुरा हुन्छन । कलर कन्ट्रास आदि ईत्यादीले अझ राम्रो बनाइदिन्छ । त्यस्तै, खिचिएको सेल्फी फोटो बिग्रिएको अनुहार बनाइदिने केही एप्सहरू पनि उत्पादन भइसकेका छन् ।

एक प्रकारको फोटो २–३ पटक मात्र खिच्ने 

आफूले खिचेका कुनै पनि फोटोहरुमध्ये उत्कृष्ट फोटो छान्नका लागि २–३ पटक फोटो खिच्नु राम्रो हुनेछ । आफूले खिचेको एउटै फोटोमा चित्त बुझाउने हो भने चाहेको क्वालिटी नपाउने सम्भावना बढी हुन्छ ।

जुमको प्रयोग नगर्नेः

मोबाइल फोन क्यामेराको हकमा जुमको व्यवस्था त हुन्छ तर त्यसको प्रयोगले तस्वीर फाट्छ र क्वालिटी राम्रो आउदैन । डिएसएलआर क्यामेराको जुम लेन्स हुन्छ र यसले प्रयोग गरेर टाढाको वस्तु वा व्यक्तिको फोटो जस्ताको तस्तै खिच्ने काम गर्दछ भने मोबाइलको क्यामेराले भने गर्न सक्दैन । दशैंतिहारमा फोटो खिच्दा, अलिक परको वस्तु वा व्यक्तिलाई फोटोमा उतार्नु छ भने, जुमको प्रयोग नगरेर, नजिकै गएर खिच्दा फोटोको क्वालिटी राम्रो र सफा आउछ ।

लेन्सको सरसफाईः

फोटो खिच्न सबैलाई हतार नै हुन्छ तर हतार हतारमा खिचिएको फोटो पछि हेर्दा दागहरु देखिंदा मन अलि अमिलो हुन्छ । फोटो खिच्नुअघि लेन्स सफा गर्नुपर्छ र फोहर वा दाग देखिए पातलो नरम कपडाले पुछेर फोटो खिच्नुपर्छ ।

फोकस मिलाउनेः

फोटोको मुख्य विन्दुलाई प्राविधिक भाषामा फोकस भनिन्छ । फोकस भनेको फोटोको सबैभन्दा प्रष्ट देखिने भाग हो । बजारमा पाईने मोबाइल क्यामेरामा ‘टच फोकस’ को व्यवस्था गरिएको हुन्छ । फोटो खिच्दा स्क्रिनको जुन भागमा छोयो त्यही फोकस हुने गर्दछ । खिचिसकेको फोटोलाई पछि फोटोसपमा प्रयोग गरेर समेत ब्लर बनाउन सकिन्छ तर खिच्दा नै गरिएको फोकस ब्लर बढी आर्कषक देखिन्छ ।

क्यामेरा नहल्लाउनेः

फोटो खिच्दा क्यामेरालाई नहल्लाइ समाउनुपर्छ । प्रकाशलाई क्यामेराको सेन्सरमा पुग्नुपर्ने भएकाले हामीले स्थिर बनाएर समाउन सकेनौं भने फोटो ब्लर आउछ र फोटो राम्रो देखिदैन 

पृष्ठभूमि याद गर्ने:

कतिपयले फोटो खिच्न थालेको वस्तु वा व्यक्तिको पछाडी के छ भनेर त्यति ध्यान दिदैनौ । त्यही कारणले फोटोमा नचाहिने कुराले फोटो खिच्ने बेलामा ध्यान अर्कैतिर मोडिन्छ । उदाहरण दिनुपर्दा दशैंको टिका लगाइरहँदा पछाडीपट्टी फाल्तु वस्तु देखियो भने त्यो फोटो जतिसुकै क्वालिटी भएपनि त्यस्ता अनावश्यक वस्तुहरुले फोटोको महत्वमा घटाउछ ।

नयाँ कोणबाट तस्वीर खिच्नेः

फोटो खिच्दा फरक फरक स्थानबाट फरक अर्थ राख्ने फोटो खिच्नुपर्छ । कुनैपनि व्यक्ति वा वस्तुको आँखाको उचाईबाट फोटो लिनुले फोटोलाई राम्रो बनाउँछ ।

चाहिदो सम्पादन गर्ने, भरसक गर्दै नगर्ने:

फोटो खिचेपछि फोटोलाई सम्पादन गर्नु एउटा महत्वपूर्ण कुरा हो तर फोटोलाई चाहिनेभन्दा धेरै सम्पादन गर्नाले फोटोमा भएको नेचुरल वस्तु नहुदा फोटो राम्रो देखिनदैन । धेरै सम्पादन गर्नु फोटोलाई किल गर्नु हो । फोटोहरु खिचिसकेपछि फोटोलाई एकै ठाउमा सुरक्षित तवरले राख्नु एकदमै महत्वपूर्ण हुन्छ। तपाईले खिचेको फोटो जोगाउनु इतिहास जोगाउनु हो ।

फोटो संग्रह गर्ने केही उपायहरु छन् । फोटो संग्रह गर्दा वास्तविक (ओरीजनल) फाइल नै गुगल ड्राइभमा अपलोड गर्नु राम्रो हुन्छ । खिचिसकेका राम्रा राम्रा फोटोहरु छानेर कम्प्युटरमा संग्रह गरेर राख्नाले भविष्यमा त्यसलाई पुनः प्रयोग गर्न निकै सजिलो हुन्छ । पछि गएर ति फोटोहरुले इतिहास बोल्ने गर्दछ। 

सामाजिक संजालमा फोटो अपलोड गर्दा क्याप्सन पनि लेख्ने गर्ने:

कयौं फोटोहरु सामाजिक संजाल प्रयोगकर्ताले खिचेका हुन्छन, र अपलोड गर्नु काम जस्तै भएको छ । दशैं तिहारमा खिचेका फोटोहरु हामीहरु सामाजिक संजालमा अपलोड गर्छौं तर केही कुराहरु ध्यान दिनु पर्छ । मोबाइल डाटा प्रयोग गरेर फोटोहरु अपलोड गर्न लागेको हो भने, फोटोको साइज सानो बनाएर अपलोड गर्नुपर्ने हुन्छ, नत्र धेरै डाटाका कारण धेरै पैसा खेर जान्छ । फोटो धेरै अपलोड गर्दा हेर्नेलाई पनि सहज र रमाईलो हुन्छ । त्यसैगरी फोटो अपलोड साथ साथै क्याप्सन पनि लेखेर राख्दा पछि खोज्न सजिलो हुन्छ । 

(लेखक नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखा कार्यसमिति सदस्य हुनुहुन्छ ।)