धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका कसैले पनि फिर्ता गरेनन् । 

निर्वाचन आयोगले तोकेको समय बिहान १० बजेदेखि १ बजेसम्म प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गराएका कसैले पनि उम्मेद्वारी फिर्ता नलिएको निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए । उनका अनुसार प्रदेशसभातर्फ भने दुवै क्षेत्रमा १ १ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन फिर्ता गरेका छन् ।

अधिकृत अर्यालका अनुसार प्रदेशसभा १ (क) तर्फ स्वतन्त्र उम्मेद्वार पासाङ डोल्मा गुरुङले मनोनयन फिर्ता गरेका छन् भने प्रदेशसभा १ (ख) मा कमलबहादुर कटवालले मनोनयन फिर्ता गरेका छन् । अब उम्मेद्वारको कुल संख्या ४७ जनामा सिमित भएको छ । यसअघि कुल उम्मेद्वारको संख्या ४९ जना रहेको थियो । प्रतिनिधिसभातर्फ ११ स्वतन्त्र र ९ राजनीतिक दलसहित २० जना उम्मेद्वार छन् भने अब प्रदेशसभा (क) मा ७ जना राजनीतिक दल र ७ जना स्वतन्त्र गरि १४ जना उम्मेद्वार हुनेछन् । यस्तै, प्रदेशसभा (ख)तर्फ ६ जना राजनीतिक दल र ७ जना स्वतन्त्र गरि १३ जना उम्मेद्वार हुनेछन् ।

अर्यालका अनुसार मनोनयन फिर्ता गरेकाहरुको नाम हटाएर अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ । १ बजेदेखि ४ बजेसम्म उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ भने ४ बजेदेखि ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने समय रहेको छ ।