धरान: बराह ग्रुपको धरान ८ स्थित बराह सपिङ मल शुक्रबारदेखि खुलेको छ । 

बराह सहकारी पीडित संघर्ष समितिले बराह संस्था जोगाउने र पीडितहरुको पैसा पनि डुब्न नदिन व्यापार, व्यवसाय गर्न दिने निष्कर्षमा पुगेसँगै शुक्रबारदेखि आंशिकरुपमा धरान ८ स्थित बराह सपिङ मल खुलेको हो । बराह ग्रुपका व्यवस्थापन पक्ष तथा सहकारी सञ्चालकहरुसँग के कस्तो सहमति भएको हो, यसबारेमा संघर्ष समितिले शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने भएको छ ।

यद्यपी, बिहिबार मेयर हर्क साम्पाङसँगको छलफलमा संघर्ष समितिले अब बराहलाई पुर्णरुपमा डुब्न नदिन समझदारीमा आउने र रोक्का गरिएको सम्पत्ति एवं खाता खोल्ने निर्णय गरिएको बताएको थियो । मेयर साम्पाङले पनि निर्णयसहित निवेदन दिएपछि रोक्का गरिएको सम्पत्ति तथा खाता फुकुवा गर्ने प्रक्रिया अघि बढाउने बताएका थिए । 

बराह सहकारीका अध्यक्षसमेत रहेका मानबहादुर विश्वकर्माले संघर्ष समिति सकरात्मक भएपछि शुक्रबार आंशिकरुपमा धरान ८ को सपिङ मल खोलेको बताए । उनले व्यापार, व्यवसाय सुचारु गर्ने आवश्यक तयारी गरिएको पनि बताए । ‘तत्काल स्टक सामानहरु क्लियरेन्स गर्नुपर्ने छ । लामो समय बन्द भएकोले सरसफाई पनि गर्नुपर्नेछ । रोक्का भएको सम्पत्ति र खाताहरु कानुनीरुपमा फुकुवा भएपछि हामीलाई व्यापार, व्यवसाय सहजरुपमा गर्ने वातावरण बन्नेछ,’उनले भने,‘संघर्ष समिति, सम्पुर्ण सेयर सदस्य तथा वचतकर्ता ज्युहरुले हामीलाई व्यापार, व्यवसाय गर्ने वातावरण बनाइदिनुहुनेछ भन्ने आशा राख्छौं ।’

baraha-pidit2

संघर्ष समितिले बराह व्यवस्थापनसँग १६ बुँदे माग राखेको थियो । ती मागहरुलाई व्यवस्थापन पक्षले पुरा गर्ने प्रतिवद्धता जनाएको छ । व्यापार, व्यवसाय सहजरुपमा अघि बढ्दै गएपछि बराहले एउटा कोष बनाएर केही प्रतिशत रकम जम्मा गर्ने पनि अध्यक्ष विश्वकर्माले जानकारी दिए । उक्त कोषबाट अतिआवश्यक देखिएका वचतकर्ताहरुलाई आपतकालिन भुक्तानी गर्ने योजना बनाएको पनि उनले बताए । 

यस्तै, संघर्ष समितिसहितको अनुगमन समिति बनाइने, विज्ञसहित बराह ग्रुपको व्यवस्थापनको टिम तयार गरिने, सम्पत्ति बिक्रीको लागी पनि समिति गठन गर्ने र कार्यविधि बनाउने, वचत रकम भुक्तानीको लागी पनि कार्यविधि बनाउने, ऋण उठाउन टोली खटाउनेलगायत सुधार गर्न तथा विश्वास आर्जन गर्न बराह व्यवस्थापन पक्षले योजना तयार गरेको छ । बराहको रकम तथा सम्पत्ति सञ्चालक एवं कर्मचारीहरुबाट अपचलन भएको टिकाटिप्पणी उठिरहेको कारण त्यसबारेमा पनि छानबिन गर्ने प्रतिवद्धता बराहले जनाएको छ । ‘छानबिनको क्रममा काम छोडेका कर्मचारी वा विगतका सञ्चालक समिति सदस्यहरुले अपचलन गरेको पुष्टि भएमा कानुनी कारबाहीको दायरामा ल्याएर सम्पत्ति असुलउपर गछौं,’उनले भने ।