धरान: मेयर हर्क साम्पाङ र बराह सहकारी पीडित संघर्ष समितिबीच बिहिबार उपमहानगरपालिकामा छलफल भएको छ । 

मेयरको कार्यकक्ष तोडफोडको घटना पछि करिब तीन महिनाको संवादहिनता अन्त्य गर्दै संघर्ष समिति र मेयर साम्पाङबीच बिहिबार औपचारिकरुपमा छलफल भएको हो । छलफलको क्रममा संघर्ष समितिका अध्यक्ष श्याम ढकालले गत साउन १५ गतेको कार्यकक्ष तोडफोड भएको घटनामा त्रुटी भएको भन्दै माफीसमेत मागे । ‘त्यस घटनामा हामी सर्मिन्दा छौं, र माफी पनि माग्दछौं, अध्यक्षको नाताले सम्पुर्ण बराह संघर्ष समितिको तर्फबाट । यो कुरालाई साहै गरेर नलिइदिनु हुनेछ भन्ने आग्रह पनि गर्दछौं,’ अध्यक्ष ढकालले भने ।

संघर्ष समितिकै प्रस्तावमा उपमहानगरले बराहको सम्पत्ति रोक्का गर्न पत्राचार गरेको भन्दै अध्यक्ष ढकालले त्यसो गर्दैमा समस्या समाधान हुने स्थिति नदेखिएको र पीडितहरु पीडाकै अवस्थामा रहने देखिएको बताए । साथै, बराह संस्था झन् डुब्ने अवस्था देखिएकोले समझदारीमा जाने निर्णय गरिएको पनि बताए । पटक पटक छलफल गर्दा कानुनी प्रक्रिया अघि बढाउदा पीडितहरुले न्याय पाउने अवस्था नदेखिएको र बराहलाई चलायमान बनाउनु नै उत्तम हुने राय, सुझाव आएकोले संघर्ष समिति पनि सोही निर्णयमा पुगेको उनले बताए । 

baraha-pidit2

सञ्चालक समिति अध्यक्ष शिवकुमार लामिछानेलेसहित सबैले आफ्नो व्यक्तिगत सम्पत्ति पनि बेचेर संस्थालाई अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाएकोले अब बराहलाई व्यापार गर्न दिनुपर्ने निष्कर्षमा संघर्ष समिति पुगेको पनि ढकालले बताए । ‘अब बराहलाई चलाउनुबाहेक अर्को विकल्प देखिएन, र छैन । बराह खोल्ने कुरामा हामी एकमत छौं । खोलिसकेपछि यो टिम संघर्ष समितिबाट अनुगमन टिममा रुपान्तरण हुन्छ, रेखदेख गरेर सञ्चालन गर्ने सहमतिमा पुगेका छौं,’उनले भने । 

मेयर साम्पाङले जनताले चाहेकै काम गर्न जनप्रतिनिधि चुनिएको उल्लेख गर्दै संघर्ष समितिको सबै वडाका संयोजकहरुसहितको लिखित निवेदन दिन आग्रह गरे । बराहको रोक्का सम्पत्ति खोल्ने बिषयमा निवेदन आएपछि आफुलाई तोक लगाउन पनि सजिलो हुने र प्रक्रिया अघि बढाउने भन्दै मेयरले भविष्यमा बराहलाई कसरी सञ्चालन गर्ने भनेर संघर्ष समिति अहिल्यै प्रष्ट हुन पनि सुझाव दिए । ‘भोली कसरी चलाउने हो, बराहलाई त्यसबिषयमा पनि प्रष्ट हुनुपर्छ । सञ्चालक समिति कसरी बनाउने ? पुरानै व्यक्तिले गर्ने  वा संघर्ष समितिकोले मात्र गर्ने वा मिलेर गर्ने ? प्रष्ट भएर तयारी गर्नुस्,’मेयर साम्पाङले भने ।

baraha-pidit1

मेयर साम्पाङले संघर्ष समितिको हरेक गतिविधि पारदर्शी गर्न आग्रह गर्दै सम्पत्ति खुल्ला गर्ने निर्णय, सहमतिलगायत बिषयमा पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी दिन पनि सुझाव दिए । ‘जतिसक्यो धेरै पारदर्शी गर्नुस् । हामी यसो गर्दैछौं भनेर प्रष्ट पार्नुस्, जनताको सपोर्ट पनि आउछ । १८ हजार पीडितसँग म बसेर त साध्य हुदैन, तर तपाईहरुले भन्दै गरेको कुरा ती सबैलाई चित्त बुझ्दो हुनुपर्छ । पीडितले न्याय पाउने गरि हुनुपर्छ । तपाईहरुले यसो गदैछौ भनेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुस्,’उनले भने । मेयर साम्पाङको सल्लाह वमोजिम संघर्ष समितिले शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ । 

बराह सहकारीले सेयर सदस्य तथा वचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछि संघर्ष समिति गठन गरेर आन्दोलन शुरु भएको थियो । बराहको सम्पुर्ण व्यापार, व्यवसाय अहिले ठप्प छ । संघर्ष समितिका अनुसार १८ हजारको हाराहारीमा वचतकर्ताहरु पीडित छन् । कति रकम फिर्ता गर्नुपर्ने भन्ने यकिन नभएपनि १४ अर्ब रकम फिर्ता गर्नुपर्ने देखिएको बताइएको छ । संघर्ष समितिले आन्दोलन गर्ने क्रममा गएको साउन १५ गते उग्ररुप लिदा मेयर साम्पाङको कार्यकक्षको भेन्टिलेसनको सिसा फोडिएको थियो । मेयरले आन्दोलन नेतृत्व गर्ने तत्कालिन संघर्ष समिति अध्यक्ष खगेन्द्र नेपाली र प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध उजुरी दिएपछि पक्राउसमेत परेका थिए । 

भिडियो: