धरान: नेकपा एमाले र जसपाको चुनावी तालमेल भएको सुनसरी क्षेत्र नं १ अन्तर्गत धरान वडा नं ५ मा निर्वाचन परिचालन समिति तथा वडा कार्यालय उद्घाटन भएको छ । 

एमाले जसपा तालमेलबाट सुनसरी १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक राई र प्रदेश सदस्य उम्मेदवार रमेश बस्नेतको उपस्तिथिमा उक्त कार्यालय आइतबार उद्घाटन भएको हो । वडा नम्बर ५ को कार्यालय देउराली वडा प्रहरी कार्यालय सामुन्नेमा स्थापना भएको छ । वडा ५ मा चन्द्र भुजेलको संयोजकत्वमा दुवै पार्टीलाई समेटेर १ हजार ५ सय १ जना रहेको निर्वाचन परिचालन समिति पनि घोषणा गरिएको छ। परिचालन समितिमा सह संयोजक चन्द्र सोताङ, सचिवमा विजय राई, सहसचिवमा निशा दाहाल र कोषाध्यक्षमा सुनिता राई रहेका छन् । 

jasapa-uml, 1

प्रतिनिधिसभाका उम्मेद्वार राईले स्थानीय तह निर्वाचनमा रहेको तत्कालीन सत्ता गठबन्धनमा गठ नहुने र बन्धन मात्र भएकोले त्यो गठबन्धन तोडिएको बताए । उनले हाल एमाले र जसपा गठबन्धन नभै चुनावी तालमेल मात्र भएको पनि बताए । साना दल र ठुलो दल नै तालमेल हुने उनको भनाई थियो । सुनसरी १ को धरानमा पटकपटक एमालेले जित्दै आएको क्षेत्र कमजोर रहेको जसपाको भागमा परेको सन्दर्भ उल्लेख गर्दै उनले सुनसरी १ मा जसपाको शक्ति कमजोर भए पनि सुनसरीको अन्य ३ वटा क्षेत्रमा जसपाको पकड रहेको र ती क्षेत्रमा एमालेलाई सघाएको बताए । कही एमालेले सघाएको कही जसपाले सघाएकोले नै त्यो तालमेल भएको उनको भनाई थियो । 

प्रदेश सभा सदस्य उम्मेदवार बस्नेतले अबको चुनाबपछि एमाले जसपाको सरकार बन्ने बताए । उनले मतदान गर्ने तरिका समेत सिकाउदै प्रतिनिधि सभामा छातामा र प्रदेश सभाको मतपत्रमा सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । एमाले र जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति भएको कार्यक्रममा स्वागत मन्तव्य चन्द्र सोताङले गरेका थिए ।