धरान: पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोलाई सहयोग गरेको भन्दै नेकपा एमाले धरान उपमहानगर कमिटीले ८ र १६ नम्बर वडा कमिटी अध्यक्षलाई कारबाही गर्न सिफारिश गरेको छ ।

एमाले धरान उपमहानगर कमिटीले धरान ८ नम्बर वडा कमिटी अध्यक्ष विश्वराम कार्की र १६ नम्बर वडा कमिटी अध्यक्ष दिलकुमार गिरीलाई कारबाहीको सिफारिश गरेको हो । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले दुवै जनालाई कारबाही गर्न जिल्ला कमिटी सुनसरीका अध्यक्षलाई सिफारिश गरेका छन् । दुवैलाई संगठित सदस्य पनि नरहने गरि कारबाहीको लागि सिफारिश गरिएको उल्लेख छ । 

उक्त रिफारिश पत्रमा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निरन्तर सचेत गराउदा पनि पार्टीको निर्णय विपरीत कार्यमा लागेको पाइएकोले कारबाही गर्न सिफारिश गरिएको जनाइएको छ । सिफारिश पत्रको बोधार्थ एमाले केन्द्रीय कमिटी, केन्द्रीय संगठन विभागको कार्यालय र १ नम्बर प्रदेश कमिटी कार्यालयलाई पठाइएको छ । 

कारबाही सिफारिशमा परेका १६ नम्बर वडा कमिटीका अध्यक्ष गिरीले आफुले यसअघि नै राजिनामा बुझाइसकेको र कारबाही गरे, नगरेको कुनै मतलव नभएको प्रतिक्रिया दिए । प्रतिनिधिसभा सदस्यमा मनोज मेन्याङ्बोलाई भोट हाल्ने बताउदै गिरीले अन्य ३ वटा भोट भने आफ्नै पार्टी एमालेको चुनाव चिह्नमा हाल्ने पनि खुलाए । उनले भने,‘अब राजनीति मलाई चाहिएन । यसपाली मनोज दाईलाई भोट हाल्छु, बाँकी ३ वटा भोट चै सुर्यमा नै जान्छ ।’

एमाले जसपा तालमेल हुँदा सुनसरी क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिश भएका जयकुमार राईको ठाउँमा जसपाका अशोककुमार राईले टिकट पाएपछि रुष्ट भएका एमाले नेता, कार्यकर्ताहरुले एमाले प्रदेश कमिटी सचिवालय सदस्य मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेद्वार बनाएका छन् । चुनाव चिह्न खरायो भएका मेन्याङ्बोको प्रचारप्रसारमा एमालेकै नेता, कार्यकर्ताहरु छन् । उनलाई भने एमालेले साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिसकेको छ । उनको साथमा रहेका एमाले नेता, कार्यकर्ताहरुलाई एमालेले पार्टीकै काममा फर्काउन निरन्तर प्रयास गरिरहेको छ । 

bishwo1