धरान: प्रदेश १ सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ।

प्रदेश १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको हिजो निधन भएको थियो । उनको निधनको शोकमा आज सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । यसैगरि, सरकारले राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

५६ बर्षीय मन्त्री थापा करिब एक महिनादेखि उपचारको क्रममा थिए । उनको उपचारकै क्रममा बुधबार बिहान साढे १० बजेतिर विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो। थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट उम्मेद्वारसमेत थिए । उम्मेद्वार थापाको निधन भएपनि उक्त क्षेत्रमा मंसिर ४ मा नै मतदान हुने निर्वाचन आयोगले जनाएको छ । त्यसको लागि आज उम्मेद्वारी मनोनयन प्रक्रिया भइरहेको छ । 

मन्त्री थापालाई शुरुमा डेंगु संक्रमण भएको थियो भने पछि निमोनियासमेत भएको थियो । उपचारको लागि राजधानी लगिएको थापालाई सुधार भएपछि पुनः विराटनगर ल्याइएको थियो । थापा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का बासिन्दा थिए । उनी २०७४ सालमा समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य भएका थिए ।