धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा एमाले जसपाका संयुक्त उम्मेद्वार हुन्, अशोककुमार राई । उनको चुनाव चिह्न हो, ढल्केको छाता । 

उनै नेता राई बिहिबार दिउँसो तातो घाममा छाता ओढेर जनताको घरदैलोमा पुग्दै थिए, र  ‘ढल्केको छाता’ चुनाव चिह्नमा भोट माग्दै थिए । यसअघि सुनसरी क्षेत्र नं १ बाट एमालेले जयकुमार राईलाई सर्वसम्मत उम्मेद्वार सिफारिश गरेको थियो । उनी आफै पनि अहिले साझा उम्मेद्वारलाई भोट माग्दै घरदैलोमा हिडिरहेका छन् । बिहिबार धरान १७ स्थित एन्फा मार्ग, सप्तरङ्गी टोल, डाँडा घोपा, फोकल्याण्ड टापु, रेल्वेलगायतका क्षेत्रमा घरदैलोमा हिडेका उम्मेदवार जनतासँग विकास र समृद्धिका प्रतिबद्धता व्यक्त गरिरहेका थिए । 

यो क्षेत्र सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुको घना बस्ती रहेको छ । त्यसक्षेत्रका जनतालाई उम्मेदवारहरुले सुकुम्बासी समस्यालाई हल गर्ने, खहरे नियन्त्रण गर्ने र खहरे प्रभावित क्षेत्रलाई करिडोर निर्माण गरेर सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । प्रतिनिधिसभाका उम्मेद्वार राईसँगै प्रदेशसभा १ (ख)का उम्मेद्वार विजयकुमार राई पनि भोट माग्दै घरदैलो गरिरहेका छन् ।