धरान: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पानीसमेत खुवाउन नसक्ने ठुला पार्टीहरुलाई अझै कति बोक्ने ? भन्दै मतदाताहरुलाई प्रश्न गरेका छन् ।

राप्रपा सुनसरी क्षेत्र नं १ को धरानको भानुचोकमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले तीन दशकसम्म सत्तामा रहेका कांग्रेस र कम्युनिष्टहरुले धरानमा पानीसमेत खुवाउन नसकेकोले मंसिर ४ गते विचार पुर्याएर मात्र भोट दिन आग्रह गरे । उनले भने,‘तीन दशकसम्म मौका पाउदा पनि धरानलाई काकाकुल बनाइराख्यो । पानीको व्यवस्था पनि गर्न सकेन, ती पार्टीहरुलाई अझै कति बोकेर हिड्नुहुन्छ ?’

rajendra-lingden

लिङ्देनले यसपटक राप्रपालाई सहयोग गर्न आग्रह गर्दै खुलेर आउने नसके पनि गोप्य मतदानको बेला हलोमा भोट दिएर कांग्रेस, कम्युनिष्टका बिग्रिएका नेतालाई सुधार्ने मौका भएको बताए । ‘खुलेर आउने आँट भएन भने कांग्रेस र कम्युनिष्ट नै भइरहनुस । जसरी नभनिकन, कुनै जुलुसमा ननिस्किकन गन्ने बेला मात्र ठुला दलहरुले थाह पाउने गरि हर्क सम्पाङलाई जिताउनुभयो, त्यसरी नै यसपाली राप्रपालाई जिताइदिनुस् । भोट हलोमा हालिदिनुस्, गन्दा मात्र थाह पाओस्,’उनले भने ।

मंसिर ४ गते आफ्ना नेताहरुलाई सुधार्ने हो भने उनीहरुको बाकस खाली बनाउन अपिल गर्दै लिङ्देनले तब मात्र जनता बाठो भइसकेछ भनेर नेताहरुले थाह पाउने बताए । ‘जब उनीहरुको बाकस खाली हुन्छ तब मात्र थाह पाउछन् कि जनता बाठो भइसकेछन् । अनि उनीहरुको २ वटा विकल्प हुन्छ, कि राजनीति छोड्ने कि सुघ्रिएर अगाडि बढ्ने । दुवै विकल्प देशको हितमा हुन्छ,’उनले भने । 

raprapa

लिङ्देनले भ्रष्टचार गर्ने पार्टी र भ्रष्टचारीहरुमाथि डोजर चलाउन मन भएको पनि बताए । आफु एक रुपैया पनि भ्रष्टचार नगर्ने प्रतिवद्धतामा अडिग रहेको र व्यवहारमा नै उतारेको दाबी गर्दै भ्रष्टचार गर्नेहरुमाथि डोजर चलाउन मन भएको बताए । नेपालका ठुला भनिएको पार्टी कांग्रेस र कम्युनिष्टहरु झगडा गरिरहे पनि खानेबेला भने एकजुट हुने गरेको पनि उनले बताए ।

भिडियो: