धरान: लोकतान्त्रिक बाम गठबन्धनको प्रदेशसभा १ (१) बाट उम्मेद्वार बनेका उमेश थापाले धरानको छाताचोकस्थित पुरानो अस्पतालको क्षेत्रमा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल र दीर्घकालिन खानेपानी योजनालाई प्राथमिकतामा राखेका छन् । 

उम्मेद्वार थापाले वीपी प्रतिष्ठानमा विरामीको अत्यधिक चाप भएकोले भेन्टिलेटर नपाउने समस्या हल गर्न पुरानो अस्पतालको खाली जग्गामा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल निर्माणको योजनालाई प्रथामिकता दिएको बताए । उक्त जग्गा स्वास्थ्य मन्त्रालयबाट विपी प्रतिष्ठानले पाएपनि उपयोगमा भने आउन सकेको छैन । थापाले वीपी प्रतिष्ठानलाई विशिष्ट किसिमको विश्वविद्यालय बनाउन पनि पहल गर्ने र त्यसअन्तर्गत सटी अस्पताल सञ्चालन गर्नसकिने पनि बताए । 

यस्तै, थापाले आफ्नो र गठबन्धनको प्राथमिकतामा धरानमा गाँभिएको साविक पाँचकन्या र विष्णुपादुका क्षेत्रको लागि पनि खानेपानीको दीर्घकालिन योजना रहेको बताए । अबको योजना सय बर्षसम्म खानेपानी आपूर्ति सुनिश्चित गर्नसक्ने सम्भाव्यताको पहल हर्ने उनले बताए । सप्तकोशी नदीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन गठबन्धन सरकारकै पहलमा भइरहेको भन्दै उनले धरान–लेउती सुरुङ मार्गको अध्ययन पनि प्रस्तावित रहेको बताए । सुरुङको योजनासँगै तमोर नदीबाट धरानमा खानेपानी ल्याउने योजनालाई पनि प्राथमिकता दिइने उनको भनाई छ ।