धरान: मंसिर ४ गतेको निर्वाचनमा हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेद्वारी दिएको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको भोली आइतबार भानुचोकमा आमसभा हुने भएको छ ।

दिउँसो करिब साढे १ बजेदेखि भानुचोकमा सभा हुने निर्वाचन परिचालन समितिका प्रवक्ता रामप्रसाद राईले जानकारी दिएका छन् । आमसभालाई प्रतिनिधिसभा सदस्य उम्मेद्वार तर्कबहादुर मगर, प्रदेशसभा १(१) उम्मेद्वार समिर तामाङ र प्रदेशसभा १(२) का उम्मेद्वार हेमचन्द्र राईले सम्बोधन गर्ने पनि उनले बताए । यस्तै, बक्लौरी क्षेत्रलगायतबाट पनि केही वक्ताहरु रहने प्रवक्ता राईले जानकारी दिए ।

आमसभा अघि वहृत सरसफाई कार्यक्रम पनि हुने भएको छ । बिहानै ७ बजेदेखि सरसफाई अभियान गर्ने तयारी भएपनि समय तालिका केही परिवर्तन भएको पनि प्रवक्ता राईले जानकारी दिए । उनले भने,‘सफाई अभियान बिहानै गर्ने भनिएपनि परिवर्तन गरिएको छ । आमसभा अघि दिउँसो १२ बजेदेखि सफाई अभियान हुन्छ ।’

ram-dai

सफाई अभियानको लागि धरानको मुख्य बजार क्षेत्रको ४ वटा पोइन्टबाट शुरुवात हुनेछ । एक समुहले छाताचोकदेखि भानुचोकसम्म, अर्काे समुह राँगा चोकदेखि भानुचोकसम्म, अर्को समुह माछा भौडीबाट भानुचोक र अर्को समुह राजेश पेट्रोल पम्पबाट भानुचोकसम्म सफाई गर्दै आउनेछ । चार दिशाबाट भानुचोकमा भेला भएपछि सार्वजनिक शौचालय पनि सफाई गरिने प्रवक्ता राईले जानकारी दिए । ‘जनचेतना जगाउने उद्देश्यले सफाई अभियान गर्न लागेका हौं । घर, दोकान अघि फोहोर व्यवस्थापन कसरी गर्ने भनेर सिकाउछौं, गार्बेज ब्याग पनि दिन्छौं, र अबदेखि त्यस्तो ब्यागमा हालेर राख्नु होला, बाटोमा नफाल्नुहोला, जरिवानामा परिन्छ भनेर सन्देश दिन्छौं,’उनले भने ।