धरान: नेकपा एमाले पार्टी परित्याग गरेर सुनसरी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मनोज मेन्याङ्बोको भोली (मंगलबार) धरानमा चुनावी सभा हुने भएको छ। 

भानुचोकस्थित ट्याक्सी स्टेण्डमा निर्माण गरिएको स्टेजमा सभा हुने निर्वाचन परिचालन मुल कमिटीका संयोजक किशोरकुमार कार्कीले जानकारी दिए । उनका अनुसार सभालाई उम्मेद्वार मेन्याङ्बोसँगै स्थानीय उद्योगी, व्यापारी, बुद्धिजिवी, युवा र महिलाले पनि सम्बोधन गर्नेछन् । 

सभामा उपस्थित हुने संख्याले जित हारको आँकलन गर्न नसकिने गएको स्थानीय तह निर्वाचनको परिणामले देखाइसकेको भन्दै कार्कीले भने,‘ठुला दलहरुले उपस्थिति जति नै देखाए पनि धरानमा स्वतन्त्रले जित्यो । तरपनि भोली हाम्रो सभामा २, ३ हजारको उपस्थिति हुन्छ भन्ने अनुमान छ ।’

संयोजक कार्कीले चुनावी अभियान तीब्र रहेको र चुनाव चिह्न खरायोको पक्षमा महोल बनेको बताए । सबै पक्षबाट सहानुभुति, सद्भाव प्राप्त भइरहेको भन्दै उनले भने,‘हाम्रो चुनावी अभियान सन्तोषजनक छ, सुखद छ । सबैबाट सहानुभूति र सद्भाव पाइराखेका छौं । त्यसैले हाम्रो अभियान परिणाममुखी भइरहेको छ ।’