धरान: लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ का उम्मेदवार रेवती रमण राईले धरान १६ स्थित स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्कमा पुगेर सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । 

चुनावी घरदैलो अभियानको क्रममा उक्त पार्कमा पुगेका उम्मेद्वार राईले स्वर्गीय मेयर सुब्बा जिवित भएको भए नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सुब्बकाकै उम्मेदवारी हुने बताए । पार्कमा भावुक हुँदै लोकतान्त्रिक वाम गठबन्धन कलम चिन्हका उम्मेदवार राईले स्वर्गीय मेयर सुब्बा धरानलाई बिकासको बाटोमा डोर्याउने काम गरेको पनि बताए । उनले धरान १६ मा झोलुङ्गे पुलदेखि विभिन्न बाटोहरु कालोपत्रे गर्न सुब्बाको निकै महत्त्वपूर्ण योगदान रहेको पनि बताए । 

धरान १६ मा स्वर्गीय मेयरको स्मृतिमा पार्क निर्माणाधीन अवस्थामा छ । तर अहिले उक्त पार्क अलपत्र झैं अवस्थामा पुगेको र ओझेलमा छ । उम्मेद्वार राईले आफू जितेर गएपछि पार्कलाई अझ सुन्दर र व्यवस्थित गर्ने प्रतिबद्धता पनि जनाए । सुनसरी १ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार माओवादीका मुक्सामहाङ्ग मेन्याङ्बो उम्मेद्वार छन् भने प्रदेश सभा १ (१) तर्फ नेपाली काङ्ग्रेसका उमेश थापा रहेका छन् ।