धरान: मंसिर ४ गतेको निर्वाचनको चुनावी प्रचारको क्रममा भोली (बुधबार) लोकतान्त्रिका वाम गठबन्धनको चुनावी आमसभा हुने भएको छ । 

धरानको भानुचोकमा हुने वृहत आमसभामा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने गठबन्धनको संयुक्त चुनावी प्रचार समितिले जनाएको छ । प्रचण्डले चुनावपछि बन्ने सरकार तथा राष्ट्रिय राजनीतिका बारेमा महत्वपूर्ण सम्बोधन गर्ने गठबन्धनको संयुक्त चुनाव प्रचार समितिले जनाएको छ । आमसभा बिहान ११ बजे शुरु हुने पनि समितिले जानकारी दिएको छ । 

प्रचण्डले सुनसरी–१ को विकास निर्माणका सवालमा गठबन्धन सरकारको वर्तमान र भावी योजनाहरूका बारेमा पनि बोल्ने बताइएको छ । यस्तै, आमसभामा नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता प्रकाश शरण महतले पनि विशेष अतिथिकोरुपमा सम्बोधन गर्ने नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले जानकारी दिए । उनका अनुसार सभामा गठबन्धनका सहभागी दल नेकपा (एकीकृत समाजवादी) पोलिटव्युरो सदस्य सहित काँग्रेस, माओवादी, नेकपा एसका केन्द्रीय एवं प्रदेश तहका नेताहरूको पनि सभामा सहभागिता रहने कार्यक्रम छ । 

राष्ट्रिय राजनीतिमा नेताहरूको धारणा आउने भएकोले सभा महत्त्वपूर्ण रहने भएकाले उपस्थित भइदिन सभापति पोखरेलले आग्रह गरे । गठबन्धनका तिनै जना उम्मेदवार चुनावी प्रचारको क्रममा मतदाताका घर घर सम्म पुग्ने घरदैलोको क्रम जारी छ । नाचगान सहितको गठबन्धनको टोली घरदैलो पुग्दा मतदाताहरूबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको सभापति पोखरेलले बताए । 

गठबन्धनबाट सुनसरी–१ मा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादीका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङबो उम्मेदवार छन् । यस्तै, प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका उमेश थापा प्रदेश सभा (क) र नेकपा (एकीकृत समाजवादी) का रेवतीरमण राई प्रदेश सभा (ख) का उम्मेदवार छन् । गठबन्धनले स्थानीय चुनावी प्रतिबद्धता पत्रमा प्रदेश १ को नामाङ्कन, धरानको खानेपानी र सिटी अस्पताल निर्माण, सडक सञ्जाल सहित यो क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र संवद्र्धनका योजनाहरूलाई प्राथमिकता दिएको छ ।