धरान: धरानको वडा नं २० स्थित नमुना टोलमा केही दिनदेखि माया धराने नामको साबुन उद्योग खोल्न श्रमदान चलिरहेको छ । 

धरान उपमहानगरपालिकाले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउने प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङले साबुन उद्योग बनाउने योजना अघि सारेका हुन् । उपमहानगरले आफ्नै डोजर लगेर जग्गा सम्याउने काम गरिसकेको छ भने गिट्टी कुट्न श्रमदान अभियान पनि चलिरहेको छ । रोजगारी सृर्जना हुने भन्दै स्थानीयबासीहरु पनि खुशी भएको अवस्थामा सोमबार भने वन कार्यालयका कर्मचारीहरु पुगेपछि केहीबेर तनाव भयो ।

खास गरि जिल्ला वन डिभिजन कार्यालय इनरुवा, विष्णुपादुका सब डिभिजन कार्यालय धरानका कर्मचारीहरु सशस्त्र वन रक्षकसहित श्रमदन भइरहेको ठाउँमा पुगेका थिए । उनीहरुले उक्त जग्गा सामुदायिन वन क्षेत्रमा पर्ने र भोगाधिकार प्राप्त नभएसम्म अन्य निकायले प्रयोग गर्न नपाउने बताए । भोगाधिकारको प्रक्रिया पुरा गर्न भन्दै आइतबार नै उपमहानगरपालिकालाई पत्राचार पनि गरिएको कर्मचारीहरुले बताए । 

वनका कर्मचारीहरुले उक्त जग्गा वनमा पर्ने दाबी गरेलगत्तै मेयर साम्पाङ रिसाएका थिए । उनले रुख नभएको खाली ऐलनी जग्गा वनको नभै स्थानीय सरकारको भएकोले अनावश्यक विवाद नझिक्न भन्दै वनका कर्मचारीलाई फिर्ता पठाइदिए । मेयर साम्पाङले विगतमा त्यही ठाउँमा तार घेराबारा गर्दा वन चुपचाप बसेको, वनको जग्गामा वस्ती बस्दा पनि नदेखेको र अन्य संस्थाहरुले पनि वनको जग्गामा भौतिक संरचनाहरु बनाउदा पनि किन नबोलेको भनेर प्रश्न पनि गरे । विगतमा सोही प्रश्न गरेर वन कार्यालयमा आफुले पत्र पठाए पनि जवाफ अहिलेसम्म नआएको भन्दै अब आउदा त्यो पत्रको जवाफ लिएर मात्र आउनु भन्दै वनका कर्मचारीहरुलाई फिर्ता पठाएका थिए । मेयर साम्पाङले उक्त जग्गा स्थानीय सरकारको भएकोले उद्योग निर्माणको काम नरोकिने बताए । 

sabun-&-ban

जिल्ला वन डिभिजन कार्यालयका सहायक वन अधिकृत जीवन कुमार यादवले आफुहरु विकासको वाधक नभएको प्रष्ट्याउदै उक्त जग्गा वन क्षेत्रको भएकोले भोगाधिकार लिएर काम गर्न आग्रह गर्न आएको बताए । कानुनमा नै वन क्षेत्रको जग्गा भोगाधिकार लिएर मात्र प्रयोग गर्न मिल्ने भएकोले पत्र लेखेर नै आग्रह गरिएको उनले बताए । ‘वनको जग्गा प्रयोग गर्नुछ भने भोगाधिकार लिएर मात्र गर्नुपर्छ, कानुनमै यही छ,’ यादवले भने,‘प्रक्रिया पुरा गरेर विकास होस् भन्न आएका हौं, त्यसमा हामी पनि सहयोग गर्न तयार छौं ।’

उद्योग बन्न लागेको जग्गा जलकन्या सामुदायिक वन समुहमा पर्ने दाबी गरिएको छ । वन समुहले कार्ययोजना तयार गर्दा त्यसक्षेत्रमा चिल्ड्रेन पार्क बनाउने योजना बनाएको र वडा कार्यालयबाट तार घेराबारा गरेको जनाएको छ । धरानको नगर कार्यपालिका बैठकबाट त्यसक्षेत्रमा औद्योगिक ग्राम बनाउने निर्णय गरेर प्रक्रिया अघि बढाएपछि वन समुह, स्थानीयबासीसँग पनि छलफल गरेको थियो । वन समुहले पनि उद्योग खुल्नु स्वागत योग्य भएकोले आवश्यक प्रक्रियामा सहयोग गर्ने जनाएको थियो । 

भिडियो: