धरान: धरानको मुख्य बजार क्षेत्र हो भानुचोक । धरानको बसपार्कसमेत रहेको भानुचोक हुदै कोशी राजमार्ग पनि धनकुटातर्फ गएको छ । भानुचोक क्षेत्रमा पुग्ने जो कोही त्यहाँको अस्तब्यस्त र भिडभाडबाट आजित हुन्छन् ।

बजार क्षेत्रमा र भानुचोकमा खचाखच साना, ठुला सवारीको पार्किङ हुन्छ । पैदल यात्रुलाई यातायात मजदुरहरुले तानातान गर्छन् । पैदल यात्रुलाई हिड्ने ठाउँ हुदैन । बस, मोटरसाइकल, टेम्पो र इ रिक्सा (सिटी सफारी)को चापले भानुचोक बसपार्क क्षेत्र, पुतलीलाइन र देशीलाइन मात्र होइन, महेन्द्र पथ पनि अस्तब्यत छ । 

मुख्य बजार क्षेत्रको यही अस्तब्यस्त यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले आज (सोमबार) धरान उपमहानगरपालिकाले सरोकारवाला निकाय, संघसस्थाहरुलाई छलफलमा बोलाएको थियो । बैठकमा मेयर हर्क साम्पाङले भानुचोक र मुख्य बजार क्षेत्रको सडकलाई वान वे बनाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सबैले समर्थन जनाए पनि थप अध्ययन गरि योजना निर्माण र कार्यान्वयनको गर्न एक कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले वडा नं २ का अध्यक्ष रमेश राईको अध्यक्षतामा १७ सदस्यीय कार्यदल गठन गरेको हो । 

yatayat1

कार्यदलमा वडा १, ३, ७, ९ र १२ का वडा अध्यक्षहरु, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ, टेम्पोका प्रतिनिधि, सुमोका प्रतिनिधि, सिटी सफारीका प्रतिनिधि, ईलाका प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायतका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटा कार्यदलको सदस्य सचिव छन् । यो कार्यदलले समग्र अवस्थाको अध्ययन गरि १० दिनभित्र प्रतिवदन पेश गर्ने बैठकले निर्णय गरेको छ । मेयर साम्पाङले निर्णय गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउदै यातायात क्षेत्र संघसंगठन र व्यक्तिहरुलाई राजनीतिक दलको आडमा निर्णय कार्यान्वयनमा अवरोध नगर्न आग्रह पनि गरे । उनले भानुचोक क्षेत्रमा सफारी र टेम्पोलाई यात्रु ओराल्ने र जाने मात्र गर्न दिइनुपर्ने पनि बताएका थिए । 

yatayat2

राष्ट्रिय यातायात व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठले २०४५ सालको भुकम्प अघि धरानमा मोटरसाइक बाहेक अन्य सवारीसाधनहरुमा वान वे लागु गरिएको स्मरण गरे । साथै उनले अहिले पनि वान वे लागु गरेमा धेरै सुधार हुने पनि बताए । गत बर्षदेखि ६ चक्के गाडीलाई वान वे गरिए पनि कडाईका साथ पालना गराउन जनशक्तिहरु खटाउन आवश्यक भएको पनि उनले बताए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले सफारी र टेम्पोहरुको अत्यधिक संख्या बढ्दा भानुचोक र बजार क्षेत्र कुरुप भएको भन्दै कार्यदलले अध्ययन गरेर उचित सुझाव दिइनुपर्ने बताए । वडा नं २ का अध्यक्ष रमेश राईले धेरै प्रयास गरेर बजार क्षेत्रमा सडक खाली गराए पनि फेरि अर्को यातायात आएर ओगट्ने गरेको भन्दै सबैको सहकार्य र प्रयास हुनुपर्ने बताए । सबै जिम्मेवार भएर व्यवसाय गर्दा पनि सिस्टम बनाएर जानुपर्ने उनले बताए । साथै उनले भानुचोक वडा २ मा पर्ने भएकोले वडालाई नै व्यवस्थापनको जिम्मेवारी दिन पनि उनले आग्रह गरे । 

 बैठकमा सफारी र टेम्पो चालकहरुले आफुहरुलाई मात्र मर्का पर्ने गरि निर्णय नगर्न आग्रह गरेका थिए । उनीहरुले धरानको क्षमता र आवश्यकता नहेरि यातायातबाट दर्ता गरेर आउन नदिने पनि स्थानीय सरकारले बिशेष ध्यान दिनुपर्ने आग्रह गरेका थिए । 

भिडियो:

भिडियो: