धरान: अप्रेशन गरेको विल तिर्न नसकेर अस्पतालमा बन्दी झैं बस्नु परेको एक विरामीलाई धरानका तीन अधिकारकर्मी महिलाहरुको पहलमा घर पठाइएको छ ।

महिला अधिकारकर्मी तथा महिला सञ्जाल धरानकी पुर्वअध्यक्ष शिला बज्रचार्य, सविता राई र वर्तमान सहकोषाध्यक्ष कल्पना शेर्पाको पहलमा ती बालिकालाई आइतबार घर पठाइएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको वार्डले एक साताअघि नै डिस्चार्ज दिइसके पनि अप्रेशनको विल तिर्ने रकम नभएर ती बालिका अस्पतालमा नै बस्न बाध्य थिइन् । 

बालिकाको बारेमा शनिबार जानकारी पाएपछि आइतबार बिहान पहल गरेर २४ हजार ५५ रुपैया संकलन गरि विल तिरेर घर पठाइएको महिला सञ्जालकी पुर्वअध्यक्ष बज्रचार्यले जानकारी दिइन् । ‘शनिबार बेलुका गएर विरामीको आमालाई भेट्यौं, र अवस्थाबारे सबै बुझ्यौं । त्यसपछि, आइतबार बिहानै एक, डेढ घण्टामा नै व्यक्तिगतरुपमा रकम संकलन भएपछि आमालाई नै बुझाइदियौं,’उनले भनिन्,‘उहाँहरुले नै विल तिरेर डिस्चार्ज भइ घर गइसक्नुभयो । हाम्रो आग्रहमा धरानका केही व्यवसायीहरुले सहयोग गर्नुभयो, उहाँहरुलाई आभार प्रकट गछौं ।’ 

धरान ८ मा आमा सुजता गुरुङ राईसँगै डेरामा बस्ने १६ बर्षीया जोनाको झण्डै २ साताअघि दुर्घटनामा परि देब्रो खु्ट्टा भाँचिएको थियो । उनलाई आफन्तले उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याएका थिए । ती आफन्तले पैसा तिरिदिने भनेपछि पेइङबाट अप्रेशन गरिएको थियो । पैसा तिरिदिने भनेका आफन्त सम्पर्कविहिन भएपछि भने घाइते बालिका र उनकी आमा सुजाता गुरुङ समस्यामा परेकी थिइन् ।

sujata

घाइते बालिकाकी आमा घरेलु काम गर्छिन् । सामान्य कमाईले दुई जनाको गुजारा जेनतेन चलेको छ । श्रीमान्ले कान्छी बिहे गरेपछि उनी छुट्दै बस्दै आएकी छिन् । पेइङबाट अप्रेशन गराउन सक्ने अवस्था नभएकी आमा–छोरीले आफन्तको आश्वासनको कारण अस्पतालमै बन्धक झैं बस्नु परेको थियो । पेइङबाट अप्रेशन भएकोले अस्पताल प्रशासनले पनि विपन्न नागरिकलाई उपलब्ध गराउने निःशुल्क सुविधा दिन सकेको थिएन । 

अप्रेशन शुल्क ३५ हजार तिर्नुपर्ने थियो भने औषधी र अप्रेशनमा लगाइएको इम्प्लान्टको खर्च पनि अलग्गै तिर्नुपर्ने थियो । सबैको आग्रहमा चिकित्सकहरुले पेइङ अप्रेशन शुल्क छुट गरेर १९ हजार ५ सय मात्र तिर्नुपरेको आमा सुजताले बताइन् । चिकित्सकहरुले पनि शुरुमा नै जेनरलबाट अप्रेशन गर्न पाएको भए सबै छुट हुनसक्ने तर पेइङबाट गराएको कारण समस्या भएको बताए । ‘उहाँहरुको एक जना आफन्त हुनुहुन्थ्यो । पेइङबाट अप्रेशन गर्ने भनेकोले गरियो । उहाँहरुले पैसाको समस्या छ भनेको भए जेनरलबाटै हुन्थ्यो, र निःशुल्क पनि हुन्थ्यो । त्यो आफन्त पछि त गायब भएछन्,’ती चिकित्सकले भने ।

औषधीमा भएको खर्चमध्ये ३० हजार अपांग तथा असहाय पुर्नस्थापना केन्द्रबाट सुनिल खड्काले तिरिदिने प्रतिवद्धता जनाएका छन् । खर्च कति भयो भनेर मेडिकलले हिसाब गरिदिन भने बाँकी नै रहेको आमा सुजताले बताइन् । पेइङबाट अप्रेशन गरेको कारण अस्पतालको बेड चार्जको पनि छुट पाउन सकेनन् । बेड चार्ज पनि सहयोग पाएको पैसाले नै तिरेर घर गएको उनले जानकारी दिइन् । सञ्जालकी सहकोषाध्यक्ष कल्पना शेर्पाले घाइते बालिका र आमालाई थप सहयोग गर्ने बताएकी छिन् । ‘हामीले उहाँहरुको अवस्थाको बारेमा भनेपछि अरु संघसंस्थाले पनि थप सहयोग गर्ने भनेको छ, हामी घरमा नै लगिदिन्छौं,’उनले भनिन् ।

सञ्जालकी पुर्वअध्यक्ष सविता राईका अनुसार एसईई पछि आर्थिक कारणले पढाई छोडेकी बालिकालाई उच्च शिक्षाको लागी पनि पहल गरिने भएको छ । ‘उनले सहिद स्कुलबाट एसइई दिएको रहेछ । त्यही पढ्ने इच्छा देखाएकोले व्यवस्थापन समिति, विद्यालय प्रशासनसँग कुरा गरेर पढाईलाई निरन्तरता दिने वातावरण बनाउछौं,’उनले भनिन् ।