धरान: डाक्टर खालिद हुसैन धरानका चर्चित चिकित्सक हुन् । छातीको बिशेषज्ञ मानिने डाक्टर हुसैनको धरान १२ चतरालाइनमा क्लिनिक छ । 

चिकित्सा पेशासँगै डा.हुसैन राजनीतिमा पनि सक्रिय छन् । पछिल्लो समय उनी जनता समाजवादी पार्टीको राजनीतिक समिति सदस्य थिए । तर, अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । केही दिनअघि काठमाण्डौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले डा.हुसैनलाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए । 

हाल धरान आएका डा.हुसैनलाई नेताहरुले भेट गरेर स्वागत गरेको तस्बिर एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले सार्वजनिक गरेका छन् । डा.हुसैनलाई स्वागत गर्न प्रदेश १ का निवर्तमान सभामुख प्रदिपकुमार भण्डारी, संविधानसभा सदस्य कृष्णकुमार राई, एमाले जिल्ला कमिटी सदस्य मिन सुब्बा, ऋषिराज राई र नगर अध्यक्ष एभेङ पुगेका छन् । ‘अनौपचारिकरुपमा भेटेर स्वागत गरेका हौं । उहाँलाई अनुकुलता हेरेर पार्टीले जिम्मेवारी आवश्य नै दिनेछ,’अध्यक्ष एभेङले भने ।