धरान: धरान उपमहानगरपालिकाकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले आफु कार्यवाहक मेयर रहदाको कार्यकालमा आइयुडिपी खानेपानी आयोजनामा एक रुपैया पनि भ्रष्टचार भएको छ भने जेल हाल्न चुनौती दिएकी छिन् ।

उपमहानगरपालिकाको प्रांगणमा बुधबार आयोजित पालिका सवाल कार्यक्रममा पुर्वउपमेयर भण्डारीले यस्तो चुनौती दिएकी हुन् । उनले छानबिनको लागी पनि खुल्ला आह्वानसमेत गरिन् । २०७४ मा निवार्चित मेयर तारा सुब्बाको निधन पछि करिब डेढ बर्ष भण्डारी कार्यवाहक मेयर भएकी थिइन् । त्यसबेला खानेपानी व्यवस्थापन बोर्डकी अध्यक्ष पनि भएकी थिइन् । बोर्डमा मेयर नै अध्यक्ष हुने चलन छ । 

पालिका सवाल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सरिन तामाङले आइयुडिपी प्रोजेक्टमा भ्रष्टचार भएको भन्दै पुर्वउपमेयर भण्डारीलाई प्रश्न गरेकी थिइन् । उनले छानबिन गरेर कडा कारबाहीको माग पनि गरेकी थिइन् । उनको जवाफ दिने क्रममा पुर्वउपमेयर भण्डारीले छानबिन गर्न र आफ्नो निर्णयबाट १ रुपैया भ्रष्टचार वा अनियमितता भएको देखिए सिधै जेल हाल्न चुनौती दिएकी हुन् । उनले भ्रष्टाचार भयो भन्ने कुरामा पटक पटक छानबिन भइसकेको पनि उनले बताइन् । आफुहरु निवार्चित हुँदा ८५ प्रतिशत काम सम्पन्न भइसकेको र विजयपुरको टंकी निर्माण हुन तथा खानेपानी संस्थानको सम्पत्ति दायित्व हस्तानरतण हुन मात्र काम बाँकी रहेको अवस्था भएको उनले बताइन् ।

cdo

संस्थान र बोर्ड समायोजन नहुदा इन्टरकनेक्सन नभएको र पुरानो वेल तथा पम्पहरु पनि बिग्रिरहने गरेकोले आयोजनाले नयाँ बनाउन पनि नपाएको उनले बताइन् । ‘३५ बर्षअघिको संरचना हो, त्यसैले बिग्रिरहन्छ । त्यो पुरै फेर्नुपर्ने थियो, यही आयोजनाबाट । तर हस्तान्तरण नहुदा काम हुन पाएन,’उनले भनिन्,‘हस्तान्तरणको निर्णय गराउन पहल गरे । मेयर साबकै नेतृत्वमा सर्वोच्चमा मुद्दा पर्यो । इन्टरकनेक्सन हुन सकेन ।’ उनले अब थप नयाँ ५ वटा वेल खने मात्र अहिलेको पानी संकट हल हुने पनि बताइन् । 

यसैगरि, मेयर हर्क साम्पाङले वडा नं ५ का वडाअध्यक्षको घरमा भएको आक्रमण र कुटपिटको घटनामा संलग्नहरु पक्राउ नपरेको भन्दै सिडिओको ध्यानाकर्षण गराएका थिए । मंगलबार मात्र कार्यभार सम्हालेकी सिडिओ हुमकला पाण्डेले आफुले घटनाबारे बुझ्न बाँकी रहे पनि अपराध गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताइन् । यस्तै, एसपी प्रभु ढकालले किटानी जाहेरीमा उल्लेख भएका २ जनालाई पक्राउ गरिसकेको र शान्ति सुरक्षामा कुनै कसुर बाकी नराख्ने पनि बताए ।