धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सञ्जिव शर्माले पाएका छन् । 

प्रतिष्ठानको शिक्षाध्यक्ष प्रा.डा.शर्मालाई स्वास्थ्य मन्त्रालयलले आज (शुक्रबार) निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मन्त्रालयबाट निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका शिक्षाध्यक्ष प्रा.डा.शर्मालाई केही अधिकारहरु पनि दिइएको तर अहिल्यै जानकारीमा नआएको पनि उनले बताए । 

प्रा.डा.शर्मा सर्पदंश बिशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि बिशेषज्ञ चिकित्सक हुन् । उनी नेपालमा मात्र नभै अन्तरराष्ट्रिय ख्यातीप्राप्त चिकित्सक हुन् । उनी गत पुष पहिलो साता शिक्षाध्यक्ष पदमा नियुक्त भएका थिए । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि प्रा.डा.शर्मा स्वतः निमित्त उपकुलपतिका हकदार थिए । उपकुलपति डा.गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै निकायबाट प्राप्त नभएको प्रोफेसर पद दुरुपयोग गरेको भन्दै माघ ९ गते बिशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए ।