धरान: प्रदेश १ सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेकी छिन् ।

मन्त्री लिम्बुले आकस्मिक कक्ष, गाइनो वार्ड, ल्याबलगायतका स्थानहरुमा अनुगमन गरेकी थिइन् । त्यसक्रममा मनत्री लिम्बूले विरामीहरुसँग पनि कुराकानी गरेर स्वास्थ्य सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् । मन्त्री लिम्बूले वीपी प्रतिष्ठानबारे थुप्रै कुरा सुनेको तर यहाँ आएर हेर्दा समस्या समाधान गर्न व्यवस्थापनले पहल गरिरहेको पनि पाएको बताइन् ।

उनले गाउँघरबाट विरामीहरु चाडो उपचार सेवा पाउने आशामा आइरहेको तर ढिलाई हुने गरेको गुनासो अत्यधिक रहेको पनि बताइन् । विरामीको चाप धेरै रहेको साथै एमआरआई, सिटिस्क्यान र जनशक्ति पनि विरामीको अनुपातमा नभएको जानकारी आफुले पाएको पनि उनले बताइन् । ‘उहाँहरुले गर्दै हुनुहुन्छ, तर अझै थप गर्नुपर्ने हुन्छ,’ मन्त्री लिम्बुले भनिन्,‘बजेटमा प्रदेश सरकारले सहयोग गरेको छ । अझ थप के कति गर्नसक्छ, गछौं । हामीले १४ जिल्लामा नै हेर्नुपर्ने हुन्छ, बजेट थोरै छ ।’ 

nirmala

प्रतिष्ठानका निमित्त उपकुलपतिसमेत रहेका रेक्टर प्रा.डा. सञ्जिव शर्माले मन्त्री लिम्बुले अनुगमन तथा अन्तरक्रिया गरेपछि सकरात्मक भएर फर्कनुभएको भन्दै खुशी व्यक्त गरे । साथै उनले प्रदेश मन्त्रालय र प्रतिष्ठानबीच सहकार्य गर्न कमिटी बनाउने समझादारी भएको पनि जानकारी दिए । ‘महत्वपुर्ण कुरा उहाँले पोजेटिभ भाइब्स लिएर जादैहुनुहुन्छ, सहकार्य गर्न दुवैतिर कमिटी बनाउने भएका छौं,’ प्रा.डा.शर्माले भने,‘प्रदेश १ को मुख्य प्रतिठान हो, उहाँहरुले सकेको गर्नुपर्ने हुन्छ, र गर्नुहुन्छ भन्ने आशा छ ।’

भिडियो: