धरान: धरानको सुस्ताएको व्यापारलाई पुनः गुल्जार बनाउने उद्देश्य राखेर १० दिने धरान एक्स्पो २०७९ आयोजना गरिने भएको छ । 

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित रंगशालामा एक्स्पो आयोजना हुन लागेको हो । संघले बिहिबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको लागी आवश्यक संरचनाहरु तयारी तीब्र भइरहेको जानकारी दिएको छ । एक्स्पो फागुन ११ गतेदेखि २० गतेसम्म हुनेछ । एक्स्पोमा नेपालका उत्पादनहरुको मात्र नभै भारत, वंगलादेश र पाकिस्तानबाट पनि स्टल राखिने संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । यस्तै, पहिला पटक धरानमा डोम (ह्याङ्गर) को प्रयोग गरेर स्टल राखिनेछ । डोम भित्र ७० वटा स्टल हुनेछ भने बाहिर थप ७० वटा स्टल हुनेछ । डोममा स्टल राख्दा हावा, पानी, हुरीबतासले पनि कुनै नोक्सनी नहुने भएकोले सुरक्षित हुने अध्यक्ष श्रेष्ठले बताए ।

dharan-expo2

एक्सोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, र्बैक तथा बित्तिय, रेडिमेड तथा कपडा, घरेलु सामानहरुको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु वरालले जानकारी दिए । यो एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रर्वद्धन गर्न आयोजना गरिएको पनि उनले बताए । एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ । राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुती रहने भएकोले बेलुकी भने टिकट (शुल्क) लाग्ने पनि आयोजकको भनाई छ ।

एक्स्पोका संयोजक गोपाल श्रेष्ठले एक्स्पो अवधिमा १० करोडको कारोबार हुने लक्ष्य राखिएको बताए । साथै, दैनिक ३० हजारको संख्यामा मानिसहरु अवलोकन गर्न आउने पनि अपेक्षा गरिएको उनले बताए । एक्स्पोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरलगायतका जिल्लाहरुबाट मानिसहरु अवालेकन तथा व्यापार गर्न आउने पनि उनको भनार्य छ ।  साथै उनले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाउने पनि अपेक्षा गरिएको बताए । 

dharan-expo

संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरु पनि आयोजना हुनेछ । बेरोजगारहरुलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वगरोजगार गोष्ठी गरिने उनले बताए । उक्त गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ । गोष्ठीमा सानो लगानीमा व्यवसाय कसरी गर्ने र व्यपार, व्यवसाय कसरी अघि बढाउने भनेर प्रशिक्षण दिइने पनि उनले बताए । यस्तै, धरानका होटल, टेम्पो, बस व्यवसायीहरुलाई समेत समेटेर पर्यटन गोष्ठी पनि गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त गोष्ठीमा प्रदेशभरिबाट पर्यटन व्यवसायीहरुलाई निमन्त्रणा गरेर धरानलाई पर्यटनको हब कसरी बनाउने भनेर छलफल गरिनेछ । यस्तै, धरानको खानेपानी समस्या र समाधानबारे पनि गोष्ठी गर्ने अध्यक्ष श्रेष्ठले बताए । 

*समाचार शिर्षकमा दाबी शब्द राखिएकोमा हटाएर अपेक्षा राखिएको जानकारी गराउदछौं । स.

भिडियो: