धरान: माया धराने साबुन उद्योग निर्माणस्थलविरुद्ध वन कार्यालयले दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरेको छ । 

उच्च अदालतले सोमबार मुद्दाको सुनुवाई गर्दै रिट खारेज गर्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधिश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलाशले रिट खारेज गर्ने फैसला गरेको उच्च अदालतको वेभसाइटमा उल्लेख गरिएको छ । अदालतको यो फैसलासँगै अब धरानको वडा नं २० मा माया धराने साबुन उद्योग खोल्न धरान उपमहानगरपालिकालाई बाटो खुलेको छ । मेयर साम्पाङले पनि साबुन उद्योग विरुद्धको रिट खारेज भएको पुष्टि गरे । उनले संक्षिप्त प्रतिक्रिया दिदै भने,‘मुद्दाको फैसला भयो, रिट खारेज भएको छ ।’

साबुन उद्योग निर्माण गर्ने भनिएको जग्गामा वन कार्यालयले दाबी गर्दै भोगाधिकार प्राप्त भएपछि मात्र निर्माण गर्नुपर्ने अडान राखेको थियो । तर उक्त जग्गालाई पहिला नै वडा कार्यालयले घेराबारा गरेर राखेको थियो भने चिल्ड्रेन पार्क बनाउने योजना थियो । मेयर साम्पाङले कार्यपालिकाबाट निर्णय गराएर साबुन उद्योगको अवधारणा अघि सारेर गिट्टी कुट्न श्रमदान भइरहेको थियो । त्यसविरुद्ध सब डिभिजन कार्यालय विष्णुपादुका र डिभिजन वन कार्यालय सुनसरीका तर्फबाट डिभिजन वन अधिकृत भिमबहादुर कालिकोटेले मुद्दा दायर गरेका थिए ।

कालिकोटेले मेयर साम्पाङ र धरान उपमहानगरपालिकालाई विपक्षी बनाएर गत मंसिर २९ गते रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाई गर्दै पुष ३ गते न्यायाधिश राजनप्रसाद भट्टराईले कारण देखाउ आदेश जारी गर्ने र अन्तरिम आदेश छलफलमा झिकाउने आदेश गरेको थियो भने पुष ६ गते न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताले अन्तरिम आदेश जारी गरेका थिए ।