धरान: हराईजन क्लबको आयोजनामा जारी ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रबेश गरेको छ ।

धरान १७ स्थित श्री निम्न माविको बास्केटवल कोर्टमा बिहिबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले आयोजक हराईजनलाई ८७-७९ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । अत्यन्त प्रतिस्पर्धात्मक भएको खेलमा नेपाल पुलिसले पहिलो क्वार्टरको खेलमा १९-१३, अंकको अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा आयोजक हराइजन लयमा फर्किन्दै २१-१६ अङ्क जोड्दै नेपाल पुलिसलाई पछ्याएको थियो । तेस्रो क्वाटरमा भने नेपाल पुलिसले २६-१९ अङ्कको अग्रता बनाउदै हराईजनलाई पछि पार्यो । चौथो क्वाटरमा भने दुवै टिमले २६-२६ बराबर अङ्क जोडेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिसका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमका लागि ब्यक्तिगत २० अंक समेत जोडेका थिए । सयुनले नगद एक हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । यसै गरि खेलमा हराईजनका सर्बोधन राईले ब्यक्तिगत २४ अंक जोडे । प्रतियोगितामा भोली शुक्रबार दोस्रो सेमिफाइनल खेल राष्ट्रिय खेलाडिले भरिएको टाइम्स क्लब काठमाडौ र नेपाल आर्मी बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टिमले नगद  एक लाख ११ हजार ५ सय ५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने  उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तस्वीर: बिकास चाम्लिङ राई