धरान: कोकाहा खानेपानी आयोजना सहयोगार्थ चैत २५ गते सम्पन्न भएको च्यारिटी कन्सर्टबाट आयोजकलाई २८ लाख बढी नाफा भएको छ । 

आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सबै खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रुपैया नाफा भएको कार्यक्रम संयोजक मीना सिंगकले जानकारी दिइन् । सोही पत्रकार सम्मेलनमा उक्त रकम बराबरको डमी चेक मेयर हर्क साम्पाङलाई हस्तान्तरण पनि गरिएको थियो । 

संयोजक सिंगकका अनुसार टिकट बिक्रीबाट १६ लाख ४६ हजार ८५६ रुपैया संकलन भएको थियो । जसमा कन्सर्टको दिन गेटबाट ३ सय दरको टिकट बिक्री हुँदा ६ लाख ४८ हजार रकम उठेको थियो भने प्रिसेल टिकट २ सय दरबाट ४ लाख ७८ हजार, ५ सय र १ हजार दरको टिकटबाट २ लाख ४६ हजार ५ सय रकम संकलन भएको थियो । यस्तै, एउटा पाइप बराबरको ७ हजार १२१ रुपैयाको टिकट बिक्रीबाट २ लाख ५६ हजार ३५६ रुपैया संकलन भएको थियो ।

kokaha concert1

टिकट बाहेकबाट विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोगबाट १९ लाख ७१ हजार २१० रुपैया संकलन भएको पनि संयोजक सिंगकले जानकारी दिए । खर्चतर्फ भने कुल ७ लाख ८१ हजार ७२१ रुपैया भएको पनि उनले सार्वजनिक गरिन् । मेयर साम्पाङले कन्सर्टका आयोजक, सहयोगी दाता, कलाकारहरु सबैलाई धन्यवाद दिएका थिए । साथै, प्रमाणपत्र पनि वितरण गरिएको थियो । चैत २५ गते सम्पन्न भएको कन्सर्टमा कलाकारहरु राजेश पायल राई, दिप श्रेष्ठ, दिपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बुलगायतले निःशुल्क गाएका थिए । 

भिडियो: