धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तयारीमा जुटेको धरान उपमहानगरपालिकाको राजश्व परामर्श समितिले राजश्वको प्रक्षेपण गरी प्रतिवेदन तयार गरेको छ । 

उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको उक्त समितिले बिहिबार मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । समितिले चैत मसान्तसम्मको यथार्थ आम्दानी र विद्यमान आर्थिक अवस्था, राजश्वका श्रोत तथा दायरामा आउन सक्ने परिवर्तन र सम्भावित श्रोत समेतको खोजी गरेर अझ बढी यथार्थपरक हुने गरि राजश्वको दर, दायरा र कर प्रशासनलाई करदाता मैत्री बनाउन गरि प्रक्षेपण गरिएको उपमेयर बेघाले बताए । 

आगामी आर्थिक बर्षको प्रस्तावित आय १ अर्ब ५३ करोड ५ लाख ५४ हजार रुपैया प्रक्षेपण गरिएको पनि समितिका संयोजक एवं उपमेयर बेघाले जानकारी दिए । यो प्रस्तावित राजश्वको अनुमान चाल आर्थिक बर्षको भन्दा १०.४० प्रतिशतले न्युन रहेको पनि उनले बताए । चालु बर्षमा कुल आय अनुमान १ अर्ब ७० करोड ८२ लाख ३३ हजार गरिएको थियो । तर, चैत मसान्तसम्मको यथार्थ कुल आय १ अर्ब १६ करोड ७९ लाख ६६ हजार ८ सय ५७ पैसा मात्र भएको पनि समितिले जनाएको छ । 

उपमेयर बेघाका अनुसार यो प्रतिवदेनलाई बजेट सिमा निर्धारण समितिको बैठकमा राख्नुपर्ने छ । उक्त समितिको संयोजक मेयर साम्पाङ हुन् । यो समितिले बजेटको सिमा निर्धारण गरेर वडाहरु र महाशाखाहरुमा पठाउनुपर्ने हुन्छ । वडा र महाशाखाहरुबाट छलफल गरेर बजेट निर्माण समितिमा आउछ र त्यहाँबाट कार्यपालिका बैठले अनुमोदन गरेर नगरसभामा पेश गर्नुपर्ने हुन्छ । 

प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले गत बर्षभन्दा १० प्रतिशत कम हुनुमा केन्द्रमा राजश्व घटेको र धरानले केन्द्रबाट पाउने रकम पनि कम भएको बताए । ‘त्यसको समग्र असर आन्तरिक आयमा पनि परेको छ । खर्च पनि घट्नु स्वभाविक हो,’उलने भने, ‘यसले आगामी बर्षको कार्याक्रम गर्दा १० प्रतिशत घटेको बजेटले विकासको कार्यक्रममा असर नपार्न प्रशासनिकरुपमा हुने फजुल खर्च घटायौं भने मेकअप गर्न सकिन्छ ।’

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले कोरोनाको कारण व्यवसाय एकदमै कमजोर अवस्थामा रहेको र युक्रेन रुसबीचको युद्धले मुल्यवृद्धिको कारण समग्रलाई असर परेको बताए । ‘ती सबै कुरालाई ध्यानमा राखेर शिर्षकमा बढाएनौ, व्यवसाय कर पनि बढाएनौं । राष्ट्रकै राजश्व कम भइरहेको अवस्थामा धरानको पनि घट्नु स्वभाविकै हो,’उनले थपे ।

मेयर साम्पाङले प्रतिवेदन बुझेपछि बजेट सिमा निर्धारण समितिको बैठक चाडै बसाउने बताए । कार्यपालिका बैठकको गाँठो पनि फुकाउन नसकिरहेको बेला समितिको बैठक सम्भव होला ? भन्ने प्रश्नमा पहल गर्ने उनले बताए । 

भिडियो: