धरान: वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका लागि पुन एकीकरण कार्यक्रम धरान उपमहानगरपालिकाले संचालनमा ल्याएको छ।

उपमहानगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका मध्ये सुचिकृत भएका ४० जना व्यक्तिहरुलाई २ दिने उद्यमशिलता तथा सिप छनौट तालिम दिएको छ । उपमहानगरपालिकाले बैशाख २८ र २९ गते उक्त तालिम दिएको पुनः एकीकरण कार्यक्रम उपमहनगरपालिकाको सामी सम्पर्क व्यक्ति तथा रोजगार संयोजक निर्मला बस्नेतले जानकारी दिइन् । 

बस्नेतका अनुसार वैदेशिक रोजगारमा जादा वैदेशिक रोजगार बोर्डबाट श्रम दस्तुर तिरेर स्वृकित लिनु पर्ने हुन्छ । उक्त दस्तुर कल्यणकारी कोषमा राखिन्छ, र वैदेशक रोजगारमा गएका व्यक्तिहरुमा भईपरि आउने जोखिम अथवा मृत्यु भएमा मृतकको परिवारलाई आर्थिक सहयोग बोर्डले दिने गरेको थियो । हाल भने विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पून एकिकरण कार्यक्रम संचालनमा ल्याएको बस्नेतले बताइन् । 

वैदशिक रोजगारमा गएका व्यक्तिहरु घर परिवार र समाजबाट टाढिदा हुने मानसिक तनावमा हुन्छन् । साथै, फर्किदा सामाजिकरुपमा केही फरक परिस्थिति पाउदा सहजै रुपमा परिवार र समाजसँग केही व्यक्तिहरु घुलमिल हुन नसक्ने, मानसिक तनाव हुने पाएका छौ । सोही कुरालाई सहज गर्ने उद्देश्यले सामाजिक अन्तरघुलन, मनोपरामर्शसहित पून एकिकरण  कार्यक्रम आयोजना गरिएको छ, बस्नेतले भनिन् ।

विदेशबाट फर्किएका व्यक्तिहरुलाई २० वटा वडाहरुमा पत्रचार गरि लाभग्राही फारम भरिएको थियो । कुल १०७ जनाले फारम भरेतापनि १ दिने अनुशिक्षणको आयोजना गरि ४० जनालाई छनौट गरेर २ दिने उद्यमशिलता विकास साथै सिप छनौट तालिमको आयोजना सम्पन्न गरेको पनि बस्नेतले बताइन् । 

सिप छनौट तालिम पश्चात सहभागीहरुलाई ४/५ वटा समुहमा छुटाई विषयत संस्थाहरुमा सिपमूलक तालिम असार मसान्त भित्र सम्पन्न गर्ने योजना कार्यक्रमको रहेको छ । ४० जनाको क्षमता, दक्षता र ईच्छाशक्ति हेरेर उनीहरुले चाहेको सीप आगामी असार मसान्त भित्र सिकाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । सहभागीहरुले ईलेक्ट्रोनिक, प्लम्बिङ, हेयर कटिङ, डाईभिङ सिक्ने ईच्छा राखेका छन् । समुह बनाएर विषयत संस्थाहरुसँग सहकार्य गरि तालिमको आयोजना गरिनेछ । तालिम लिए पछि आवश्यक औजार तथा सामग्रीहरु सपोर्ट पनि हुनेछ ।