धरान: किरात राई साँस्कृतिक कलाकार संघको छैटौं राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ । 

आयोजक संघले बुधबार यलम्बर स्मृति संग्रहालय भवन धरान १० मा पत्रकार सम्मेलन गर्दै यही जेठ १३, १४ र १५ गते राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनको नारा किरात इतिहास, सँस्कृति र प्राचीन सभ्यताको सम्मान, किरात पहिचानसहित १ नम्बर प्रदेशको नामाङ्कन रहेको सम्मेलन आयोजक कमिटीका संयोजक रामकर राईले जानकारी दिए । 

सम्मेलनको उद्घाटन सत्र भानुचोकमा हुने र कोशी प्रदेश नामाङ्कन खारेजी माग गर्दै जनप्रदर्शन र शक्ति प्रर्दशनकैरुपमा पनि आयोजना गरिने संयोजक राईले बताए । उनका अनुसार संघको १३ वटा जिल्ला कार्यसमिति रहेको छ भने विदेशमा पनि ७ वटा शाखाहरु रहेको छ । ती सबैबाट गरि सम्मेलनको लागि १२० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने पनि संयोजक राईले बताए । 

संघको स्थापना २०६३ सालमा भएको हो । संघमा किराती गीत, संगीत, कला साहित्य, सँस्कार, सँस्कृति, मुन्धुम जस्ता किरातीपनमा आस्था र विश्वास गर्ने सबै साँस्कृतिक राई कलाकर्मीहरु आवद्ध छन् । गायन, संगीत, चित्रकला, मुर्तिकला, नाट्यकर्मी विभिन्न क्षेत्रका कलाकर्मीहरु संघमा रहेको पनि संयोजक राईले बताए । 

आयोजक संघका उपाध्यक्ष सालिक सतासक राईका अनुसार सम्मेलनमा साँस्कृतिक जागरणसहितका मन्तव्य, सँस्कृतिकर्मीद्धारा साँस्कृतिक सांगीतिक प्रस्तुतीलाई बहसकोरुपमा उठाइनेछ भने साँस्कृतिक सांकेतिक विद्रोहबारे पनि बहस हुनेछ । यस्तै, कोशी प्रदेश खारेजीको माग लिएर हजारौं संख्यामा कफन बाँधेर प्लेकार्डसहित धरान बजार परिक्रमा गर्दै झाँकीसहित र्याली हुनेछ भने पहिचानसहितको किरात प्रदेश नामकरणको लागि दबाब साथै भाषा, साहित्य, संगीत सम्बन्धी विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत गरी बहस पनि गरिने सतासकले जानकारी दिए । 

सम्मेलनको प्रचारप्रसारको लागि जेठ ११ गते (बिहिबार) इटहरीका विभिन्न १० वटा चोकहरुमा सांगीतिक सुचना सभा आयोजना हुनेछ भने जेठ १२ गते (शुक्रबार) धरानका विभिन्न १४ वटा चोकहरुमा सांगीतिक सुचनासभा गरिनेछ । यस्तै, जेठ १३ गते भानुचोकमा उद्घाटन सत्र, जेठ १४ गते बन्दसत्रमा ५ वटा कार्यपत्र प्रस्तुत हुनेछ भने जेठ १५ गते जिल्ला कार्यसमितिनका प्रतिवेदन प्रस्तुत, छलफल, अनुमोदन, केन्द्रको प्रस्तुत र धरान घोषणापत्र जारी हुनेछ । 

भिडियो: