धरान: कोशी प्रदेश नामकरण विरुद्ध विराटनगरमा भएको आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई आज साँझसम्म विनासर्त रिहाई नगरे प्रदेशमा आमहडताल गर्ने घोषणा आन्दोलनरत पक्षले गरेको छ ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रेश विज्ञप्ती जारी गर्दै जेठ १६ गते कार्यालय समयभित्र पक्राउ परेकाहरुलाई विना सर्त रिहाई नगरे भोली जेठ १७ (बुधबार) बिहानदेखि अनिश्चितकालिन प्रदेशव्यापी आमहडताल गर्न बाध्य हुने घोषणा गरेको छ । जेठ १४ गते प्रदेशसभा घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो भने दर्जनौं आन्दोलनकारीहरु पक्राउ परेका थिए । ती मध्ये सोमबार साँझसम्म पनि २७ जनालाई रिहाई नगरिएको संघर्ष समितिले जनाएको छ । 

पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का उपाध्यक्ष अशोक चेम्जोङसहित २७ जनालाई प्रहरीले झुटा मुद्दामा फसाउने योजना बनाइरहेको पनि संघर्ष समितिको दाबी छ । प्रदेश नं १ को नाम संसदले कोशी राखेपछि पहिचान पक्षधरहरुले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । अघिल्लो पटकको आन्दोलनमा पदम लिम्बु (लाजेहाङ) सहिद भएका थिए । आन्दोलनरत पक्षले पहिचानको आधारमा प्रदेश नं १ को नाम पुनः नामाकरण गर्न माग गर्दै आएको छ ।