धरान: भुपु लाहुरेहरुको सहर भनेर परिचित यो सहरको नाम किन धरान राखियो भन्नेबारे धेरैलाई थाह नहुनसक्छ । बाहिरका मात्र होइन, धरानकै पछिल्लो पुस्ता पनि अनभिज्ञ छन् ।

थुप्रै सहरहरुले आफ्नो इतिहास र पहिचन झल्काउने प्रतिमाहरु मुख्य चोकमा राख्ने गरेका छन् । धरानको मुख्य बजार वा चोकमा भानुभक्तको मुर्ति छ भने हङकङको नक्कल गरेर बनाइएको घण्टाघर ठडिएको छ । यी दुवैले धरानको वास्तविक तथा मौलिक पहिचान र इतिहास बोल्दैन । 

काठ चिर्ने आरावालाहरुले तयार गर्ने धरान (धराप)बाट पुर्वको आधुनिक सहर धरान नामकरण भएको मानिन्छ । घना जंगलकोरुपमा रहेको स्थानमा फडानी गर्ने क्रममा काठ चिर्ने आरावालाहरुले धरान (धराप) तयार गर्थे । धरानको शिर रहेको विजयपुरमा मात्र मानव बसोबास थियो । उनीहरु काठ चिर्न आउने ठाउँ धरान (धराप) भएकोले फडानी भएको ठाउँको नाम धरान रहन गएको र अहिलेको आधुनिक धरान भएको हो ।

dharan statue2 copy

यो इतिहास झल्कने गरि धरानको वडा नं २० स्थित श्रम सँस्कृति पार्कमा धरानको प्रतिमा राखिने भएको छ । धरानको प्रतिमा मुर्तिकार तथा कलाकार रोजन राईले निर्माण गरिसकेका छन् । उनले तयार गरेको मुर्ति मंगलबार श्रम सँस्कृति पार्कमा पुर्याइएको छ । अब फिनिसिङ गर्न एक साताको समय लाग्ने र सम्पुर्णरुपमा तयार भएपछि उद्घाटन गरिने कलाकार राईले बताए । 

मुर्ति तयार गर्न धरान उपमहानगरपालिकाबाट करिब ९ लाख बजेट छ भने मुर्ति बनाउदा १५ लाख बढी खर्च भइसकेको पनि कलाकार राईले बताए । राम्रो काम होस् भनेर उपमहानगरपालिकाबाट प्राप्त हुने रकमभन्दा बढी खर्च गरेर मुर्ति निर्माण गरिदिएको कलाकार राईले बताए । उनले भने,‘९ लाखभन्दा धेरै नै खर्च भइसकेको छ । यति राम्रो काम भइरहेकोले मेरो तर्फबाट पनि श्रमदान नै गरिदिएको छुँ ।’

dharan statue1

मेयर हर्क साम्पाङको अगुवाईमा वृहत वृक्षरोपण गरेर नामकरण गरेको श्रम सँस्कृति पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । धरान र बाहिरबाट पनि थुप्रै मानिसहरु श्रम सँस्कृति पार्क हेर्न आउने गरेका छन् । त्यहाँ गत बर्ष रोपिएको विरुवाहरु हुर्कदै गएका छन् । त्यही क्षेत्रमा घुम्न आउनेहरुलाई थप आकर्षणको लागि धरान मुर्ति स्थापना गरिएको हो । मेयर साम्पाङले धरानको पहिचान झल्कने गरि निर्माण गरिएको मुर्तिले पर्यटकहरुलाई थप आकर्षित गर्ने बताए । श्रम सँस्कृति पार्क हुदै ऐतिहासिक साँगुरीगढी जाने पुरानो बाटोमा पदमार्ग निर्माण कार्य पनि भइरहेको छ भने पिस गोर्खा फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेले निर्माण गरिदिएको निशाने खानेपानी ट्यांकी हेर्न पनि धेरै मानिसहरु आउने गरेका छन् । 

भिडियो:

भिडियो:

भिडियो: