धरान: आवश्यक सामग्रीहरुको अभावको कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा महाविद्यालय अन्तर्गतको विभिन्न विभागको सेवा प्रभावित हुन पुगेको छ । 

प्रतिष्ठानले आवश्यक पर्ने दन्त सामग्रीहरुको आपूर्ति समयमा नै गर्न नसक्दा उपचार सेवा प्रभावित हुन पुगेको हो । एक दन्त चिकित्सकका अनुसार अहिले डेन्टलमा ३० प्रतिशत हाराहारीमा मात्र सेवा सुचारु रहेको छ । ‘चेकजाँच गर्ने, दाँत निकाल्ने जस्ता केही सेवाहरु मात्र छ । समग्रमा ३० प्रतिशत मात्र सेवा छ भन्दा हुन्छ,’ ती चिकित्सकले भने,‘नक्कली दाँत बनाउने, सिमेन्ट भर्ने जस्ता महत्वपुर्ण सेवाहरु छैन ।’

प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले मंगलबार एक सुचना जारी गर्दै ‘सामग्री अभावको कारण उपचारमा ढिलाई हुनसक्ने तथा केही सेवा अस्थायीरुपमा सिमित गर्नुपर्ने स्थिति उत्पन्न भएको’ बताएका छन् । अस्पताल प्रशासनले आवश्यक सामग्रीहरुको खरिद तथा आपूर्ति सम्बन्धी प्रक्रिया प्राथमिकताका साथ अघि बढाइसकेको र सामग्री उपलब्ध भएसँगै दन्त सेवा पुनः पुर्णरुपमा सुचारु गर्ने पनि अस्पताल निर्देशकले जारी गरेको सुचनामा उल्लेख छ । 

किन हुन सकेन सामग्री आपूर्ति ?

प्रतिष्ठान स्रोतका अनुसार यसअघिका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको पालामा नै सामग्री खरिदको टेण्डर भएको थियो । उक्त टेण्डर एमएस गर्ग डेण्टल प्रालि धरानले पाएपनि धेरै विवाद र शंकास्पद देखिएपछि लामो समय सामग्रीहरु आपूर्ति हुनसकेको थिएन । 

उक्त टेण्डरको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको लागि पत्राचार समेत गरेको थियो । अन्ततः लामो रस्साकस्सीपछि प्रतिष्ठानले उक्त टेण्डर नै रद्द गरेर नयाँ प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ । 

पर्चेज अर्डर जारी छैन: रजिष्ट्रार 

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले टेण्डर प्रक्रिया रद्द भएको जानकारी दिदै अब सेवा ठप्प हुन नदिन सर्टटर्ममा भएपनि सामान खरिद गरेर सुचारु गरिने बताए । थुप्रै आशंकाहरु भएको कारण पनि टेण्डर प्रक्रिया रद्द गर्नुपरेको उनको भनाई छ । 

‘एउटै निकायले पनि कन्फ्युजनको कुरा भयो । मुल्यांकन समितिले पनि घरि एउटा कुरा गर्छा, घरी अर्को कुरा गर्छ, एकरुपता भएन,’ रजिष्ट्रार डा.संग्रौलाले भने,‘पर्चेज अर्डर जारी नभैकन सामान आइसकेको छ भन्ने कुरा पनि छ । बोलपत्रवाला पनि एउट मात्र जस्तो देखिन्छ, अध्ययन गर्नुपर्ने छ, यसले आशंका उत्पन्न गराएको छ ।’

यो बिषयमा अख्तियारबाट पनि पत्राचार भएकोले अध्ययन गरेर जवाफ पठाउने तयारी भइरहेको पनि रजिष्ट्रार संग्रौलाले बताए । ‘अख्तियारले पनि के भएको हो भनेर सोधेको छ, त्यसको जवाफ पनि जान्छ । अख्तियारले त्यसैलाई गर भन्छ कि, हामी नयाँ टेण्डर प्रक्रिया पनि गछाौं, सर्टटममा भएपनि केही सामाग्री किनेर चलाउनुपर्छ भन्ने छ,’ उनले भने । 

bp dental notice