धरान: राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेको र नेपाली भुमी समेटेर अखण्डा भारतको नयाँ नक्सा भारतको संसदमा प्रकाशित गरेको विरोधमा बिहिबार धरानमा पनि प्रर्दशन भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा जानुअघि नागरिकता विधेयकलाई प्रमाणिकरण गरेका थिए । विवादित उक्त विधेयकलाई प्रमाणिकरण गरेको विरोधमा नेकपा एमालेका भातृ सगंठनहरुले बिहिबार देशभर प्रर्दशन गरेको हो । यस्तै, हालै भारतको संसदमा प्रकाशित नक्सामा नेपालको लुम्बिनीसहितका भुभागहरु पनि समेटिएको विरोधमा एमाले भातृसंगठनहरुले विरोध गरेको हो । 

धरानको भानुचोकमा आयोजित विरोध प्रर्दशनमा एमालेका भातृसंगठनहरु राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, अनेरास्ववियुव मुक्ती समाज लगायतको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा अनेमसंघकी केन्द्रिय सदस्य सुशिला पहाडीले सम्बोधन गरेकी थिइन् । सहभागीहरुले देश बेच्न पाईदैन, नेपाली भुमी मिच्न पाईदैन जस्ता नाराहरु लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए ।