धरान: किरात राई साँस्कृतिक कलाकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष रामकर राई सम्मानित भएका छन् ।

किरात राई सास्कृतिक कलाकार संघको १८ औं स्थापना दिवस सोमबार सुनसरी शाखाले धरानमा मनाउदै निवर्तमान केन्द्रीय अध्यक्ष राईलाई सम्मान गरेको हो । किरात राई साँस्कृतिक कलाकार संघ, सुनसरीले आयोजना गरेको कार्यक्रममा किरात राई जातीको भाषा, धर्म, सस्कार–सस्कृतिको संरक्षण,  प्रबर्दन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै राईलाई सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथी किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष शालिक शतासक राई र कलाकार संघ, सुनसरीकी अध्यक्ष हेमन चाम्लिङ राईले सम्मान–पत्रसहित किराती संस्कार अनुसार सम्मानित गरिएको थियो । 

निवर्तमान अध्यक्ष राई २०६३ सालदेखी कलाकार संघमा आबद्ध भएर कलाकार संघ सुनसरीमा एक कार्यकाल उपाध्यक्ष, केन्द्रमा दुई कार्यकाल उपाध्यक्ष हुँदै कलाकार संघको केन्द्रीय अध्यक्ष पनि भएका थिए । उनी उदयपुरको गाइघाटमा भएको पाँचौं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका थिए । हालै धरानमा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनबाट उनले नेतृत्व हस्तान्तरण गरेका थिए । यस्तै, कलाकार संघ सुनसरीकी निवर्तमान अध्यक्ष जयकला राईलाई पनि कदर पत्रसहित बिदाइ गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथी राईले पहिचान बिरोधी कोशी नाम खारेज गर्नुको बिकल्प नभएको बताए । उनले प्रदेशबासीको जनभावना विपरीत ल्याएको कोशी नाम बहुपहिचान नभई एक जातीय पहिचान भएको तथ्य समेत पेश गरे । सोही अवसरमा जेठ १३, १४ र १५ गते धरानमा सम्पन्न कलाकार संघको छैठौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष शालिक शतासक राईसहित सचिब डिबी राई, सदस्यद्धय अर्जुन कुलुङ राई र राजु के राईलाई संस्थाकी अध्यक्ष हेमन राईले बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि व्यक्त गरेकी थिइन् । कार्यक्रम कलाकार संघ केन्द्र, जिल्ला, किरायाका सुनसरी अध्यक्ष राजेन्द्र राई, किरायाका भातृ, भाषिक संघ सस्थाका प्रतिनिधिहरुको सभागिता रहेको थियो ।