धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रबार) पनि बसेको छ । 

हिजो बिहिबार बजेटको सिलिङ र ब्रेकडाउनको एजेण्डामा कुरा नमिलेपछि बैठक स्थगित भएको थियो । सोही बैठकको निरन्तरताकोरुपमा आज पनि २ बजेदेखि बैठक बसेको हो । सामान्यतया बैठकमा विविध एजेण्डा अन्तिममा मात्र प्रस्तुत हुन्छ । तर, आजको बैठकमा भने शुरुमा नै विविध एजेण्डा प्रस्तुत गरेर बैठक शुरुवात भएको हो । मेयर हर्क साम्पाङले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा कुरा नमिल्दा त्यसभन्दा तल राखिएका निर्णय हुनसक्ने एजेण्डाहरु पनि प्रभावित हुने भएकोले अन्तिमको विविधबाट बैठक शुरुवात गर्ने प्रस्ताव गरेका थिए । उनकै प्रस्ताव अनुसार विविधबाट एजेण्डा प्रस्तुत भएर बैठक बसेको हो ।

कार्यपालिकाले नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यलयहरुमा विगतदेखि नै करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई १ बर्षको लागि करार नविकरण गर्ने निर्णय गरेको छ । यस्तै, ५ जना नगर प्रहरी करारमा राख्न दरबन्दी स्वीकृतिको लागि नगरसभामा पेश गर्ने पनि निर्णय भएको छ । साथै, २० वटै वडामा नगरको सरसफाई प्रभावकारी बनाउन १५ जना सफाईकर्मी ज्यालादारीमा राख्ने र पाले, चौकीदार, माली गरि ५ जना थप कर्मचारी ज्यालादारीमा राख्ने पनि निर्णय भएको छ ।

बैठकले पुर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभामा अबिरल बर्षाले धनजनको धेरै क्षति भएकोले पीडित परिवारको लागि जिल्ला दैविक प्रकोप उद्दार कोषमा ५ लाखको दरले सहयोग पठाउने पनि बैठकले निर्णय गरेको छ । यस्तै, कक्षा ६ को स्थानीय पाठ्यपुस्तक हाम्रो धरान स्वीकृत गर्दै बैठक शैक्षिक सत्र २०८० देखि कार्यान्वयनमा लैजाने पनि निर्णय गरेको छ । बैठकले नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग हाल वडा ६ मा निर्माणाधिन अवस्थामा रहेको र उक्त क्षेत्रमा १०५ फिट (सेडब्याकसहित) कायम गर्ने पनि निर्णय गरेको छ ।

भिडियो: