धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनमा समेटेर स्वायत्तता खोस्ने र आंगिक कलेज मात्र बनाउन लागेको भन्दै गठित वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । 

प्रतिष्ठानको स्वायत्तता खोसिन हुदैन भन्दै राजधानी पुगेको संघर्ष समितिको टोलीले आज शनिबार प्रधानमन्त्री दाहाललाई भेटेर छाता ऐनको मस्यौदाबाट वीपी प्रतिष्ठानलाई अलग गर्न र विश्वविद्यालय बनाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो । उक्त भेटमा प्रधानमन्त्री दाहालले उक्त ऐनको मस्यौदामा वीपी प्रतिष्ठानलाई नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री वीपी प्रतिष्ठानको कुलपति पनि हुन् । 

प्रधानमन्त्री दाहालले वीपी प्रतिष्ठानसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि छाता ऐनबाट हटाएर स्वायत्त नै राख्ने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री दाहालले प्रतिष्ठान विशिष्ट प्रकारको स्वायत्त संस्था भएकोले यसको स्वायत्तता खोसिने खालका कुनै ऐन नआउने पनि बताए । प्रतिष्ठान देशकै गहना भएको भन्दै यसलाई जोगाई राख्नु सरकारको पनि दायित्व भएको प्रधानमन्त्री दाहालले बताए । 

संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङबोले प्रतिष्ठानको स्वायत्तता कायम राख्दै चिकित्सिा विश्वविद्यालय बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह समेत गरे । पुर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद ज्ञानेन्द्र वहादुर कार्की, धरानमा पुर्व मेयरहरु मनोज मेन्याङबो, तिलक राई सहितको टोलीले पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितीमा प्रधानमन्त्री दाहाललाई उनको निवास वालुवाटर पुगेर ज्ञापन पत्र बुझाएको थियो ।