धरान: बास्केटवल ट्यालेन्ट हन्टका  खेलाडी विद्यार्थीहरुले शुक्रवार धरान १७ मा रहेको साकेला साँस्कृतिक पार्कमा श्रमदान गरेका छन्।

उनीहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेको जनाएको छ । किरात राई यायोक्खा, सुनसरीद्धारा एक महिना देखि साकेला सास्कृतिक पार्क मर्मत संभार तथा श्रृगार गर्ने कार्य भइरहेको छ । हरेक वर्ष किरातीहरुको महान चाड उधौली र उभौली मनाइने पार्कमा चिल्ड्रेन पार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ । शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडीहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने कार्यमा सहयोग गरेका थिए ।

     राम्रो खेलेर मात्र हुदैन, खेलाडिहरु फिटसंगै अनुशासित र सहयोगि पनि हुनु पर्छ भनेर व्यवहारिक रुपमा सिकाउनलाई सामाजिक कार्यमा सहभागी गराइएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए । बास्केटवल खेलाडिले तिन घण्टा श्रमदान गरेका थिए । सहयोगका लागि आएका खेलाडीहरुलाई किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले धन्यवाद दिएका थिए ।

       साकेला पार्कमा रहेको १५ फिटको किरात राजा यलम्वरको प्रतिमा, वाबु(चिण्डो) पोखरी, पोखरीका रंगिन माछा, चिल्ड्रेन पार्क, गार्डेन, किरात संस्कृति झल्किने आकर्षक प्रवेशद्धार, सभा हल, कार्यक्रम स्टेज, पिकनिक खान तथा घुम्न आउनेहरुको लागि वस्ने हटहरु, व्यवस्थित टोइलेट वाथरुम, खानेपानी र विभिन्न प्रजातिका वोट विरुवाहरुले सास्कृतिक साकेला पार्कलाई आर्कषक बनाइएको छ ।