धरान: आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको दाबीसहित धरान उपमहानगरपालिकाले पानीपिया क्षेत्रमा राखेको बोर्डलाई इटहरी उपमहानगरपालिकाले हटाएको छ ।

सोमबार बिहान धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीले पानीपियामा सिमा प्रारम्भ भएको बोर्ड राखेको थियो । केही समयपछि इटहरीको टोली आएर उक्त बोर्डलाई हटाएको हो । धरान र इटहरीबीच लामो समयदेखि सिमा विवाद रहेको छ । यसअघि इटहरीले सेउती पुलमा राखेको बोर्ड तत्कालिन मेयर तिलक राईको पालामा उखेलेर फालिएको थियो । 

धरान र इटहरीको सिमा क्षेत्र कोशी राजमार्गमा रहेको सेउती पुललाई मानिदै आएको थियो । तर, नेपाल सरकारकै नापी विभागले जारी गरेको नक्सामा पानीपियासम्म धरानको भुभाग उल्लेख छ । नेपाल सरकारले क्षेत्रफलको आधारमा दिने अनुदानमा पनि नापी विभागकै क्षेत्रको आधारमा अनुदान धरान र इटहरीलाई पठाउने गरिएको छ । आधिकारिक सिमा क्षेत्र पानीपिया भएपनि इटहरी उपमहानगरपालिकाले भने सेउती खोलाको पुल नै सिमा क्षेत्र भएको जिकिर गर्ने गरेको छ । 

यसअघि गत बैशाखमा पनि धरानले सोही स्थानमा राखेको सिमा प्रारम्भ बोर्ड युवा संघले उखेलेर लगेको थियो । सिमा विवाद चर्किएपछि समाधान गर्न धरानको कार्यपालिका बैठकले सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्ला समन्वय समितिलाई पत्राचारसमेत गरेको थियो । जिल्ला समन्वय समितिले सिमा विवादबारे छलफल गराउन सकेको छैन ।