धरान: धरान उपमहानगरपालिकाले छिमेकी इटहरी उपमहागरपालिकासँगको सिमा क्षेत्र पानीपियामा फेरि सिमा प्रारम्भ बोर्ड राखेको छ ।

मेयर हर्क साम्पाङको निर्देशन वमोजिम सोमबार बिहान नगर प्रहरीले पानीपियामा पुगेर सिमा प्रारम्भ भएको बोर्ड राखेको हो । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको नगर प्रहरीले बोर्ड राखेर फर्केको हो । यसअघि पनि धरानले सोही स्थानमा सिमा प्रारम्भ भएको बोर्ड राखेको थियो । त्यसबेला एमाले निकट राष्ट्रिय युवा संगठन इटहरीले राती बोर्ड उखेलेर लगेको थियो ।

नगर प्रहरीले कोशी राजमार्गमा पर्ने सेउती खोलाको पुलमा राखिएको नेपाल प्रहरीको बोर्ड पनि हटाएको छ । इटहरी र धरान प्रहरीले आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको बोर्ड सेउती खोला वारी र पारी राखेको थियो । प्रहरीको उक्त बोर्डले पनि धरान र इटहरी उपमहानगरको सिमा भएको भन्ने भ्रम सृर्जना गरेको भन्दै मेयर साम्पाङले हटाउन निर्देशन दिएका थिए । 

मेयर साम्पाङले धरानको सिमा क्षेत्र पानीपिया नै भएकोले बोर्ड राखिएको प्रतिक्रिया दिए । जिल्ला समन्वय समितिलाई सिमा विवाद हल गर्न पत्राचार गरेपनि समाधान हुन नसकेको उनले बताए । विगतमा पनि राखिएको बोर्ड उखेलेर लगेको र ती व्यक्तिहरुलाई कानुनी कारबाही पनि नभएको भन्दै असन्तुष्टी जनाए । साथै, फेरि उखेलेर लगेमा पुनः बोर्ड राख्ने उनले बताए ।

भिडियो: