धरान: सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएकोले वदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले वारेसमार्फत शुक्रबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापासँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कोशी प्रदेश र सभामुख बाबुराम गौतमसँगै प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ । रिट निवेदन दर्ता भएसँगै प्रदेश प्रमुख गौतमलाई असार २४ गते (आइतबार) पेशी तारिखमा अदालतमा हाजिर हुन आदेश दिएको छ ।

प्रदेश सभामुख तटस्थ रहनुपर्ने र प्रदेशसभामा मत बराबर भएमा मात्र संविधानको धारा १६८ वमोजिम निर्णायक मत दिन पाउने भएपनि तटस्थ पदलाई दलीय भागवण्डामा आफुलाई संलग्न गराएको र पदको मानमर्दन गरेकोले संविधान र कानुन विपरीत मुख्यमन्त्री नियुक्त गर्ने निर्णय वदर गर्न निवेदनमा माग गरिएको छ ।

यस्तै, सभामुखको हस्ताक्षरसमेतलाई समावेश गरी सरकार गठन गर्न पेश गरिएको दावी असंवैधानिक र कानुन विपरीत हो भन्ने देखिदा देखिदै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशले वदर गर्न पनि माग गरिएको छ । साथै, निवर्तमान मुखमन्त्री कार्कीले संविधानको धारा १६८(३) वमोजिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेता आफु भएकोले सरकारको नेतृत्व गर्ने अवसर दिलाउन परमादेशको आदेश पनि जारी गर्न माग गरेका छन् । 

hikmat supreme court9