धरान: धरानको कार्यपालिका बैठकबाट आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित भएको छ । 

आज बिहान बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित गरेको हो । असार १० गते नै नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा केही सदस्यहरुले सुझाव पेश गर्दै संशोधन गरिनुपर्ने माग राखेका थिए । सोही माग अनुसार कार्यपालिका बैठकले सुझावहरु समेटेर नीति तथा कार्यक्रमलाई आजको बैठकले पारित गरेको हो । 

यस्तै, विनियोजन विधेयक अन्तर्गत वडागत र बिषयगत बजेटलाई पनि बैठकले पारित गरेको छ । यद्यपी, यो एजेण्डामा उपमेयर तथा बजेट तर्जुमा समितिका संयोजक अइन्द्रबिक्रम बेघा र कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिकी संयोजक सृर्जना नेपालबबीच भनाभन पनि परेको थियो । नेपालले समितिले निर्णय गरेर दिएको ब्रेकडाउनलाई तर्जुमा समितिले परिवर्तन गरेको भन्दै आपत्ति जनाएकी थिइन् । तर्जुमा समितिको बैठकमा बिषयगत समितिले पारित गरेको भन्दा फरक कार्यक्रमहरु आएको भन्दै आफुले हस्ताक्षर नगरेको र समितिको निर्णय हस्तक्षेप गर्ने हो भने राजिनामा दिने पनि बताएकी थिइन् ।

उपमेयर एवं तर्जुमा समितिका संयोजक बेघाले भने बिषयगत समितिबाट आएको ब्रेकडाउनलाई आवश्यकता अनुसार हेरफेर गर्ने अधिकार तर्जुमा समितिको भएकोले केही शिर्षक फेरिएको बताए । उनले कार्यपालिकाको निर्णयलाई नगरसभाले हेरफेर गर्नसक्ने भन्दै बिषयगत समितिको निर्णय पनि त्यसैगरि तर्जुमा समितिबाट परिमार्जन गरिएको प्रष्टीकरण दिएका थिए । केहीबेरको चर्काचर्कीपछि विनियोजन विधेयक पनि पारित भएको थियो । आजै धरानको नगरसभा सैनिक भवनमा दिउँसो २ बजेदेखि बस्दैछ । 

भिडियो: