धरान: बराह पीडित संघर्ष समिति र बराह ग्रुपका सञ्चालकहरुको आग्रहमा धरान उपमहानगरपालिकाले एक बर्षदेखि रोक्का गरिएको सम्पत्ति तथा बैंक खाता फुकुवा गरिदिने भएको छ । 

संघर्ष समिति र बराहका सञ्चालक समितिले कारोबार ठप्प हुँदा बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्दा धितो राखिएको सम्पत्ति लिलामी प्रक्रियामा जान लागेको भन्दै सम्पत्ति र बैंक खाता फुकुवा गर्न मेयर हर्क साम्पाङसँग आग्रह गरेको थियो । मेयर साम्पाङले संघर्ष समितिको आग्रहबारे पीडितहरुको पनि राय लिने भनेपछि बिहिबार बराह पीडितहरुलाई उपमहानगरपालिकामा बोलाएका थिए । 

उपस्थित पीडितहरुले पनि बराहको रोक्का रहेको सम्पत्ति फुकुवा गरेर व्यापार, व्यवसाय गर्ने र पैसा फिर्ता हुने वातावरण बनाउनुपर्ने धारणा राखेपछि मेयर साम्पाङले फुकुवा सिफारिश गर्ने बताए । मेयर साम्पाङले पीडितहरुकै आग्रहमा गत बर्ष चल, अचल सम्पत्ति रोक्का गर्न सिफारिश गरिएको र पीडितहरुकै चाहना अनुसार फुकुवा सिफारिश गरिदिने बताए । उनले जनताको सम्पत्ति डुब्न नहुने साथै पैसा फिर्ता हुने अवस्थामा गरिब, निमुखाहरुलाई प्राथमिकता दिनुपर्ने पनि बताए । 

baraha1

कोभिड महामारीसँगै शुरु भएको आर्थिक संकटले बराह ग्रुप अन्तर्गतको व्यापार, व्यवसाय र सहकारीले वचतकर्ता र लगानीकर्ताहरुको पैसा फिर्ता गर्न नसकेर बराह धरासायी हुदै गएको थियो । बराह सहकारीको वचतकर्ता र लगानीकर्ताहरुको करिब १४ अर्ब रकम जोखिममा रहेको बताइएको छ । बराहको सम्पत्ति, सञ्चालकहरुको खातासहित रोक्का हुँदा व्यापार व्यवसाय र कारोबार गर्न नपाएकोले झन् धरासायी हुदै गएको छ । बैंक तथा बित्तिय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा धितो राखिएको सम्पत्ति लिलाम हुने अवस्था पुगेपछि संघर्ष समिति र बराह सञ्चालकहरु सम्पत्ति फुकुवा गरेर व्यापार, व्यवसाय सुचारु गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् । 

संघर्ष समितिका संयोजक एवं व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद ढकालले अन्य विकल्प नभएकोले एक पटक पुनः विश्वास गरेर व्यापार, व्यवसाय गर्ने वातावरण बनाउनको लागि सम्पत्ति फुकुवा गर्न आफुहरु सहमत भएको बताए । बराहका सञ्चालकसमेत रहेका सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले एक बर्षदेखि कारोबार, व्यापार ठप्प हुँदा जटिल अवस्था बनेकोले सम्पत्ति फुकुवा गरेर व्यापार गर्ने वातावरण तयार गर्नुपर्ने बताए । यसैको लागि संघर्ष समितिसँग सहमति गरेर फुकुवा गर्न उपमहानगरपालिकालाई आग्रह गरिएको बताए । बराह ग्रुप र वचतकर्ता, लगानीकर्ताको सम्पत्ति जोगाउन आफुहरु पुर्ण इमान्दारिताको साथ व्यापार, व्यवसाय गर्ने पनि बताए । 

भिडियो:

भिडियो: