धरानः नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीको क्षेत्रीय तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको बन्द–सत्रले विभिन्न १४ बुंदे नीति तथा कार्यक्रम पारित गरेको छ । 

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको बन्द–सत्रले नीति तथा कार्यक्रम पारित गरेको हो । बन्द–सत्रमा क्षेत्रीय सभापति तामाङले प्रस्तुत गरेको प्रस्तावहरुमाथि छलफल गर्दै १४ बुँदे नीति तथा कार्यक्रम पारित गरेको हो । सभापति तामाङका अनुसार सुन्दर, समुन्नत र समृद्ध धरान निर्माण गर्न “शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार–बहुसांस्कृतिक आवासीय धरान सहर” निर्माण गर्न पहल गर्ने नीति तथा कार्यक्रम पारित भएको छ ।

यस्तै, सुन्दर, समुन्नत र समृद्ध बराहक्षेत्र निर्माण गर्न “समृद्ध वराहक्षेत्रको आधार–कृषि, पर्यटन र दिगो पूर्वाधार” भन्ने नारालाई संवोधन गर्न पहल गर्ने तथा सुन्दर, समुन्नत र समृद्ध रामधुनी निर्माण गर्न “व्यवसायिक कृषि र उद्यम सहितको पर्यटकीय सहर – स्वस्थ्य, सुसंस्कृत र प्रविधिमा आधारित समृद्ध रामधुनी नगर” निर्माण गर्न पहल गर्ने नीति तथा कार्यक्रम परित भएको छ । 

यसैगरि, सहकारीमा डुवेको जनताको रकमका सम्बन्धमा राज्यको समेत ध्यानाकर्षण गराई न्यायोचित निकास दिलाउन पहल गर्ने, धरानसँग सीमा जोडिएका नगरपालिकाहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास आदि क्षेत्रमा सहकार्य गर्ने पनि बन्दसत्रबाट पारित भएको छ । 

congress

ज्येष्ठ नागरिक, एकल महिला, वालवालिका, अपांग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक आदि लक्षित वर्ग तथा समुदायको हक, अधिकारको रक्षा गर्दै जातिय तथा वर्गिय विभेद, छुवाछुत, लैंगिक विभेद, सामाजिक, सांस्कृतिक, धार्मिक विभेद आदि सबैखाले विभेदको अन्त्य गर्दै राज्यको श्रोत, साधनमा समान पहुंच स्थापित गर्दै समतामूलक र समावेशी समाज निर्माण गर्न पहल गर्ने नीति तथा कार्यक्रम पारित भएको छ 

राज्यको कार्यकारी जिम्मेवारीमा पुगेका नेताहरु भ्रष्टचार, अनियमितता र जघन्य अपराधहरुमा मुछिनु, पार्टी सञ्चालन तथा अवसर र जिम्मेवारी पद्रान गर्दा नेतृत्वहरु गुटगत अभिप्रायले प्रेरित हुनु, अवसर प्राप्त गर्नका लागि जे पनि गर्ने तर अवसर पाईसकेपछि पार्टी र पार्टीको नीति तथा कार्यक्रमलाई भुल्ने, पटक पटक आफुले मात्र अवसर लिने तथा अरुलाई अवसर दिन नचाहाने प्रवृत्ति, आफुले पाए ठीक अरुले पाए वेठिक भन्ने मानसिकता, पार्टीमा भएको दण्डहीनता आदि कारणले पार्टीमा क्षयीकरण हुने क्रम बढेको भन्दै नेतृत्व सच्चिनु पर्ने पनि उल्लेख गरिएको छ । 

बन्द–सत्रमा क्षेत्रीय सचिव केशव पुरी, प्रदेशसभा १(१) का सचिव राजेन्द्र राई, प्रदेशसभा १(२) का सहसचिव रोहित काप्mलेले संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा र प्रदेशसभा १(२) का कोषाध्यक्ष हरी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।