धरान: धरान १४ विजयपुरमा गोपाल मन्दिर सामुन्ने चर्च बनेपछि शुरु भएको विवाद साम्य हुनुको साटो झनै चर्कदै गएको छ । 

हिन्दु धर्मावलम्बीहरुले विजयपुर क्षेत्र संरक्षण समिति बनाएर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएपछि शुरु भएको विवादको बिषयमा दुवै पक्षलाई छलफलमा राखे पनि सहमति हुन सकेन । मन्दिर पक्षले हिजो (मंगलबार) पुनः विवादित हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई ल्याएर स्थलगत अवलोकन गराएपछि यो विवादले थप थप उग्ररुप लिएको छ । 

गोपाल मन्दिरअघि बसेर श्रीनिवासले चर्च भत्काउने मात्र कुरा गरेनन्, बाबरी मस्जिदको घटना दोहोरिने चेतावनी पनि दिए । साथै उनले धरानका मेयर हर्क साम्पाङ ख्रिष्टियन भएको र चर्च बनाउन संरक्षण एवं मद्दत गरेर धर्मयुद्ध गराउन खोजेको पनि आरोप लगाए । श्रीनिवासको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेसँगै आलोचना पनि भइरहेको छ । 

यता, मेयर साम्पाङले श्रीनिवासको अभिव्यक्तिबारे फेसबुकमार्फत प्रतिक्रिया दिदै धर्मबारे आफुले निर्णय गर्न नसक्ने बताए । उनले धार्मिक आस्थाको बिषयमा निर्णय न्यायलयले मात्र गर्नसक्ने बताए । संविधान र कानुनको अन्तिम व्याख्यता न्यायलय भएकोले नगरपालिकाले धर्मको बिषयमा निर्णय गर्न नसक्ने भनेर न्यायलय जान आफुले आग्रह गरेको मेयर साम्पाङले बताए । 'कसरी मैले धर्मयुद्ध गर्न लगाए ? कसैको पक्षमा मैले बोलेको छैन । म धर्मको पक्षमा बोल्न चाहन्न । तटस्थ रहन्छु,' उनले भनेका छन्, 'म किराती कुलमा जन्मेको मान्छे हुँ । प्रकृति पुजक हुँ, पितृलाई मान्दछु । मेरो मौलिकता, नैर्सगिक अधिकार हो । तर यो कुन धर्म मान्ने, कुन नमान्ने, के गर्ने भन्ने बिषय मेरो बिषय होइन ।' 

मेयर साम्पाङले आफु सबैलाई मिलेर काम गर्नुपर्छ भन्ने पक्षमा रहेकोले सबै मिलेर श्रम गरौं भन्ने आग्रह गरिरहेको बताए । धर्म र इश्वर एउटै हुन्छ भन्ने आफुले बुझेको र कुनै धर्म सानो, ठुलो हुदेन भन्ने आफ्नो मान्यता रहेको पनि उनले बताएका छन् ।

आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ 

guru1 copy

सुनसरीको बराह नगरपालिका वडा न ६ चक्रघटी बस्ने श्री निवास आचार्यमाथि २०७४ चैत २५ मा विराटनगर महानगरपालिकाको जतुवामा गोली प्रहार भएको थियो । उनको छातीमा दाँया कुमनेर गोली लागेको थियो । उनलाई तत्कालै विराटनगरस्थित न्युरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । 

 श्रीमद भागवत सप्ताह पुराणको तयारी भइरहेको बेला यो घटना भएको थियो । उनी बिहान करिब ३ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । हिन्दु धर्मगुरुमाथि भएको यो घटनाले प्रहारी प्रशासनलाई ठुलो चुनौती खडा गरेको थियो भने कतै नेपालमा धार्मिक सद्भाव पो भड्किने हो कि भन्ने त्रास पनि फैलिएको थियो । 

श्रीनिवासले हिन्दुराष्ट्र नवजागरण अभियान चलाइरहेका थिए । त्यसैले उनीसँग हिन्दु धर्मावलम्बीहरुको भावना जोडिएको थियो । घटनामा सर्वत्र निन्दा पनि भयो । तर, एक महिना पनि नबित्दै २०७५ बैशाख २४ मा आफैलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपमा श्रीनिवास पक्राउ परे । उक्त घटना उनकै योजनामा भएको पनि प्रहरीले खुलासा गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले त्यसबेला पत्रकार सम्मेलन गर्दै गोली हान्ने माधव चौधरी र लक्ष्मीराज अधिकारीसहित श्रीनिवासलाई सार्वजनिक गरेको थियो । 

उपचारपछि श्रीनिवास काठमाडौं गएका थिए, र भारत जाने तयारीमा रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासबाट पक्राउ गरेको थियो । श्रीनिवासलाई गोली प्रहार गर्ने माधव चौधरी चितवन भरतपुर महानगरपालिका–४ का थिए भने लक्ष्मीराज अधिकारी नवलपरासी गैंडाकोट–५ का थिए । उनीहरु दुवैले श्रीनिवासले नै भनेकै आधारमा गोली प्रहार गरेको बयान प्रहरीलाई दिएपछि उनी पनि पक्राउ परेका थिए । यद्यपी उनले यो आरोपको खण्डन गर्दै आएका छन् । 

प्रहरीका अनुसार श्रीनिवासले गोली हान्न सिकाएर धर्म र देशको लागि केही गर्नुपर्छ भनेर गोलीसहित पेस्तोल दिएको वयान माधव चौधरीले दिएका थिए । श्रीनिवासले आफैलाई गोली प्रहार गर्नको लागि लक्ष्मीराज अधिकारीबाट पेस्तोल मगाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो । हिन्दू राज्य बनाउन विभिन्न चरणमा आन्दोलन गर्दा पनि सफल नभएपछि जनता र धर्म गुरूलाई उक्साउन श्रीनिवासले उक्त घटना गराएको प्रहरीको भनाई थियो । 

श्रीनिवासलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको थियो । आफैंमाथि गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई मोरङका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले पुर्पुक्षको लागि थुनामा पठाएपछि उनले अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी सुनसरीको झुम्का कारागारबाट २० दिनमा रिहा भएका थिए । उनलाई न्यायाधीश नारायणप्रकाश शर्माको एकल इजलासले ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।